मानवसेवा आश्रममा निःशुल्क स्वास्थ्य शिविर

आश्रममा आश्रितहरूको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै आयोजित शिविरमा समग्र स्वास्थ्य परीक्षण तथा परामर्श प्रदान गरिएको छ।

माघ १६, २०८२

शंकर आचार्य

Free health camp at Manav Sewa Ashram

पर्सा — नेपाल ईनोभेटिभ सोसाइटी पर्साको आयोजनामा मानवसेवा आश्रम वीरगन्जमा शुक्रबार निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

आश्रममा आश्रितहरूको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै आयोजित शिविरमा समग्र स्वास्थ्य परीक्षण तथा आवश्यक परामर्श प्रदान गरिएको आयोजकले जनाएको छ।

शिविरमा चिकित्सकहरू डा निरज कुमार सिंह, डा मनोज उपाध्याय र डा प्रीती यादव, नारायणी अस्पतालकी नर्सिंङ प्रमुख अहेमा थापालगायतले स्वास्थ्य सेवा प्रदान गरेका थिए। चिकित्सक टोलीले आश्रममा आश्रितहरूको विस्तृत स्वास्थ्य परीक्षण गरी आवश्यक परामर्श दिएको थियो।

शिविरका क्रममा विभिन्न रोगसम्बन्धी औषधि निःशुल्क वितरण गरिएको थियो। मानसिक स्वास्थ्यसम्बन्धीऔषधि, भिटामिन, स्यानिटरी प्याडलगायत सामग्री समेत वितरण गरिएको आयोजक संस्थाका अध्यक्ष कमल चौगाईले जानकारी दिए।

स्वास्थ्य परीक्षणका क्रममा केही सहभागिमा आङ खस्ने, स्तनमा गाँठो देखिने, योनीमा घाउ, पिसाब चुहिने तथा पाठेघरसम्बन्धी समस्या देखिएको चिकित्सक टोलीले जनाएको छ। ती समस्या समाधानका लागि आवश्यक परामर्श तथा उपचार प्रक्रिया सम्बन्धी सुझाव समेत दिइएको थियो।

शंकर आचार्य आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully