उत्कर्ष नेपालको आयोजनामा यहाँस्थित मधेश विश्वविद्यालय परिसरमा बिहीबार आयोजित महोत्सवको उद्घाटन मधेस प्रदेश सरकारका वनमन्त्री शंकर चौधरीले गरेका थिए ।
पर्सा — मधेसको भाषा, साहित्य र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यसहित वीरगन्जमा बिहीबारदेखि दोस्रो मधेस साहित्य महोत्सव सुरु भएको छ ।
उत्कर्ष नेपालको आयोजनामा यहाँस्थित मधेश विश्वविद्यालय परिसरमा आयोजित महोत्सवको उद्घाटन मधेस प्रदेश सरकारका वनमन्त्री शंकर चौधरीले गरेका थिए । महोत्सवका संरक्षक वीरगन्ज महानगरका मेयर राजेशमान सिंहको अध्यक्षतामा समारोह सम्पन्न भएको थियो । मधेसको लोक बाजा सहनाई, सिंगा र खुर्दुक बाजा बजाएर लोक वाद्य वादकहरूको समूहले महोत्सवको उद्घाटन गरेका थिए ।
महोत्सवमा मधेसका साथै देशभरका साहित्यकार, लेखक, कवि र चिन्तकको सहभागिता रहेको छ । महोत्सवस्थलमा मधेसको रीतिथिति,परम्परा,संस्कृति झल्किने झाँकी आदि पनि प्रस्तुत गरिएको छ । मधेसका लोकनृत्य तथा थारु झम्टा नाच पनि प्रस्तुत गरिएको थियो ।
उद्घाटनपछि ‘गावः स्मृति, मिथक र यथार्थ’ विषय बीजपत्रको प्रमुख वक्ता डा भाष्कर गौतम थिए । ‘गावका युवाः पलायन, पोलिसी र विकल्प' विषयक प्रथम सत्रको वक्ताहरूमा बसन्तकुमार कुशवाह, विजयकान्त कर्ण र डा सलोनी प्रधान सिंह थिए । ‘गावः लोकतन्त्र र सत्ता’ विषयक दोश्रो सत्रको वक्ताहरूमा सुरेश ढकाल, डा सुचेता प्याकुरेल र डा सविन निङ्ग्लेखु थिए । त्यसैगरी, ‘गावः स्मृति र इतिहास’ विषयक तेस्रो सत्रका वक्ताहरुमा डा गोपाल ठाकुर, डा अन्जय मिश्रा, डा त्रिभुवन बरई र राकेश मिश्र थिए ।
