सप्तरीमा अनुगमन समितिले हटायो निर्वाचन आचारसंहिता विपरीतका सामग्री

बिहीबार बिहान जिल्ला आचारसंहिता अनुगमन समितिले नै राजविराजका चोक–चोकमा लगाइएका चुनाव चिन्ह उल्लेखित तोरणसहितका सामग्री हटाएको हो।

माघ १५, २०८२

विद्यानन्द राम

Monitoring committee removes content that violates election code of conduct in Saptari

राजविराज — उम्मेदवार र राजनीतिक दलले निर्वाचन आचारसंहिता विपरीत सप्तरीको राजविराज नगरपालिकाका चोक–चोकमा लगाएका तथा टाँगेका चुनाव चिन्ह उल्लेखित तोरणसहितका सामग्री हटाइएको छ।

निर्वाचन आचारसंहिता उल्लंघन गरेर सार्वजनिक स्थलहरुमा तोरणसहितका सामग्री टाँगेको पाइएपछि जिल्ला आचारसंहिता अनुगमन समितिले गत मंगलबार बैठक राखेको थियो।

ती बैठकमा उम्मेदवार तथा दलका प्रतिनिधिले आचारसंहिता विपरितलगायका ती सामग्री हटाउने सहमति पनि जनाएका थिए। तर, सहमतिअनुसार उनीहरुले २४ घण्टाभित्रै ती सामग्री हटाएनन्।

बिहीबार बिहान जिल्ला आचारसंहिता अनुगमन समितिले नै राजविराजका चोक–चोकमा लगाइएका चुनाव चिन्ह उल्लेखित तोरणसहितका सामग्री हटाएको हो। ‘बिहान बसेको समितिको निर्णयअनुसार आचारसंहिता उल्लंघन हुने गरी सार्वजनिकस्थलमा राखिएका सामग्रीहरु हटाएका छौं,’ समितिका संयोजक मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश किशोर घिमिरेले भने।

आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले माघ ४ गते राति १२ बजेदेखि निर्वाचन आचारसंहिता लागू गरेको छ। तर, यहाँका केही उम्मेदवार तथा दलका नेता/कार्यकर्ताले आचारसंहिता उल्लंघन गरी सरकारी भवन, विद्यालय, स्मारक, सडकका पोल वा सार्वजनिक स्थलहरुमा तोरण, झण्डा, चिन्ह, पोस्टरलगायतका सामग्री लगाएका छन्।

विद्यानन्द राम विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully