जनमत पार्टीले अध्यक्ष चन्द्रकान्त (सीके) राउत उम्मेदवारी रहेको सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मै आचारसंहिता उल्लंघन गरेको पाइएको छ।
What you should know
राजविराज — फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन आउन अब ३७ दिन बाँकी छ। स्वच्छ, निष्पक्ष र भयमुक्त निर्वाचनका लागि निर्वाचन आयोगले माघ ४ गते राति १२ बजेदेखि आचारसंहिता लागू गरेको छ।
तर, जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतले उम्मेदवारी दिएको सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मै आचारसंहिता उल्लंघन गरेको पाइएको छ।
पार्टीआवद्ध नेता/कार्यकताले सोमबार मध्ये राति नै आचारसंहिता उल्लंघन गरेर राजविराजका मुख्य चोक–चोकमा चुनाव चिन्हका तोरण टाँगेका छन्। गजेन्द्र चोकमा चौतर्फी तोरण टाँसेका छन् भने त्यहाँका चौबाटोमा पनि चुनाव चिन्हका तोरण टाँगेका छन्। चोकदेखि दक्षिणतर्फ नेता चोकसम्मका सडक हुँदै नेता चोकका चौतर्फी सडकमा पनि जनमत पार्टीका चुनाव चिन्ह उल्लेखित तोरण टाँगेका छन्।
निर्वाचन आचारसंहिता उल्लंघन भइरहँदा पनि पार्टीका चुनाव चिन्हका तोरणमूनि नै प्रहरीले ड्युटी गरिरहँदा पनि नदेखेझैं गरेर वेवास्ता गरिरहेका छन् भने अन्य जिल्ला आचारसंहिता अनुगमन समितिका संयोजक मुख्य निर्वाचन अधिकृत, सह संयोजक प्रमुख जिल्ला अधिकारीलगायतका सबै मौन छन्।
प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले अहिले दलहरुसँग निर्वाचन आचारसंहिताकै विषयमा छलफल गर्ने तयारी रहेको बताए। ‘निर्वाचन आचारसंहिताअनुसार तोरण टाँग्न नहुने हो, हामी ‘स्ट्रिक्ट’ रुपमा आचारसंहिता पालना गराउँछौं’, उनले भने।
जिल्ला आचारसंहिता अनुगमन समितिका संयोजक मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश किशोर घिमिरेले निर्वाचन आचारसंहिता पालना गर्ने विषयमा राजनीतिक दल र उम्मेदवारहरुलाई छलफलका लागि बोलाएको बताए। ‘त्यसैबाट केही निकास निस्किन्छ,’ उनले भने।
निर्वाचन आचारसंहिता, २०८२ को परिच्छेद ४ मा राजनीतिक दल, उम्मेदवार, दलको भातृ संगठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरण उल्लेख छ। त्यसको बुँदा न१ को (थ) मा दलको झण्डाको वा दल वा उम्मेदवारको चुनाव चिन्हको तोरण बनाई सार्वजनिक प्रदर्शन गर्न वा गराउन नहुने उल्लेख रहेको छ।
