नक्कली नोटको जोखिम बढेपछि सतर्क रहन संघको आग्रह

संघले सम्भव भएसम्म नगदको सट्टा विद्युतीय माध्यमबाट कारोबार गर्नसमेत आग्रह गरेको छ।

माघ १३, २०८२

शंकर आचार्य

Association urges vigilance as risk of counterfeit notes increases

पर्सा — वीरगन्ज बजार क्षेत्रमा पछिल्लो समय नक्कली नेपाली रुपैयाँका नोट देखिन थालेपछि वीरगन्ज उद्योग वाणिज्य संघले गम्भीर चिन्ता व्यक्त गरेको छ । संघले मंगलबार विज्ञप्ति जारी गर्दै उद्योगी, व्यवसायी र सर्वसाधारणलाई नगद कारोबार गर्दा विशेष सतर्कता अपनाउन आग्रह गरेको हो ।

संघका अध्यक्ष हरिप्रसाद गौतमद्वारा हस्ताक्षतिर विज्ञप्तिमा समयमै सचेत नहुने हो भने नक्कली नोटको समस्याले भविष्यमा गम्भीर तथा विकराल रूप लिन सक्ने जोखिम रहेको उल्लेख छ। ‘नगद कारोबार गर्दा नोट राम्ररी जाँच गरेर मात्र लेनदेन गर्न अनुरोध गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ।

नेपाल राष्ट्र बैंकले तोकेको मापदण्डअनुसार नक्कली नोट चिन्ने विभिन्न संकेत रहेको संघले जनाएको छ। नोटको कागज अत्यधिक चिल्लो हुनु, रङ असामान्य रूपमा गाढा वा फिका देखिनु, सुरक्षा धागो बाहिरबाट टाँसिएको जस्तो देखिनु, प्रकाशतर्फ पारेर हेर्दा आवश्यक चिह्न नदेखिनु जस्ता लक्षण देखिएमा नोट शंकास्पद हुन सक्ने विज्ञप्तिमा उल्लेख गरिएको छ।

संघले सम्भव भएसम्म नगदको सट्टा विद्युतीय माध्यमबाट कारोबार गर्नसमेत आग्रह गरेको छ। नक्कली नोटको प्रयोगले आर्थिक अपराध बढ्नुका साथै व्यक्तिगत तथा संस्थागत क्षति हुन सक्ने भन्दै सबै पक्षलाई जिम्मेवार र सचेत बन्न विज्ञप्तिमा अनुरोध गरिएको छ ।

शंकर आचार्य आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully