सप्तरीमा निर्वाचन आचारसंहिता उल्लंघनका सामग्री हटाउने सहमति

२४ घण्टाभित्र चुनाव चिन्हका तोरण, झण्डा र पोस्टर सार्वजनिक स्थलबाट हटाउने समझदारी ।

माघ १३, २०८२

विद्यानन्द राम

Agreement to remove content violating election code of conduct in Saptari

राजविराज — सप्तरीमा निर्वाचन आचारसंहिता उल्लंघन गरेर टाँगिएका चुनाव चिह्न उल्लेखित तोरण, झण्डा, पोस्टरलगायतका सामग्री २४ घण्टाभित्र हटाउने सहमति भएको छ। जिल्ला आचारसंहिता अनुगमन समिति, उम्मेदवार, दलका प्रतिनिधि र सरोकारवालाहरूबीच मंगलबार दिउँसो सो सहमति भएको हो ।

सहमतिअनुसार सरकारी भवन, विद्यालय, स्मारक, सडकका पोल वा सार्वजनिक स्थलहरूमा टाँगेका/टाँसेका/लगाइएका दलका तोरण, झण्डा, चिह्न वा पोस्टर सम्बन्धित उम्मेदवार वा दलले नै हटाउनेछन् । बैठक सकिएको २४ घण्टाभित्र ती सामग्री हटाउने उम्मेदवार र दलका प्रतिनिधिले प्रतिबद्धता जनाएका छन्।

सो अवधिमा ती सामग्री नहटाइए निर्वाचन आचारसंहितामा उल्लेख भएअनुसार हुने जिल्ला आचारसंहिता अनुगमन समितिका संयोजक मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश किशोर घिमिरेले बताए । ‘उहाँ (उम्मेदवार तथा दलका प्रतिनिधि)हरूले आचारसंहिताविपरीतका प्रचार सामग्री हटाउने प्रतिबद्धता गर्नुभएको छ,’ उनले भने, ‘हटाउनुहुन्छ। हटाउनुभएन भने आचारसंहिताअनुसार अघि बढ्छौं।’

फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले माघ ४ गते राति १२ बजेदेखि निर्वाचन आचारसंहिता लागू गरेको छ। तर, यहाँका केही उम्मेदवार तथा दलका नेता/कार्यकर्ताले आचारसंहिता उल्लंघन गरेको पाइएपछि आचारसंहिता अनुगमन समितिले सो बैठकको आयोजना गरेको थियो ।

विद्यानन्द राम विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully