सभापतिमा निर्वाचित भएपछि पहिलोपटक मधेश झरेका गगनथापालाई मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवलगायतका नेता, कार्यकर्ताले स्वागत गरेका थिए ।
सर्लाही — नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सोमबार आफू उम्मेदवार भएको सर्लाही–४ आइपुगेका छन् ।
सभापति थापाले धनकौल बजारस्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा कार्यकर्तालाई आफू सेवकको रुपमा काम गर्न यहाँ आएको बताए । उनले अब पाँच वर्ष यहीँ जनताको बीचमा बसेर शिक्षा, स्वास्थलगायत थुप्रै कामहरु गर्ने प्रतिबद्धता जनाए । उनले तराई मधेशको रहनसहन, पर्व सबै आफ्नो लागि प्रेरणा हुने सुनाए । थापा तीन दिन आफ्नो निर्वाचन क्षेत्रका मतदातासित भेटघाट गर्ने छन् ।
सभापति थापा काठमाडौंबाट सिमरा विमानस्थल हुँदै सर्लाही आएका हुन् । उनी यसै क्षेत्रका निवर्तमान सांसद अमरेशकुमार सिंहसित चुनावमा भिड्दै छन् । सिंह २०७० सालदेखि क्षेत्रबाट लगातार चुनाव जित्दै आएका छन् । सिंहले यसपटक रास्वपाबाट उम्मेदवारी दिएका छन् ।
पार्टीले भावी प्रधानमन्त्रीको घोषणा गरिसकेको थापालाई सर्लाही–रौतहट सीमास्थित बागमती कर्मैयामा नेता कार्यकर्ताले स्वागत गरेका थिए ।
सभापतिमा निर्वाचित भएपछि पहिलोपटक मधेश झरेका थापालाई मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव लगायतका नेता कार्यकर्ताले स्वागत गरेका थिए ।
