अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रञ्जित झाले भने सप्तरीको खडक नगरपालिकाबाट पनि शनिबारै उस्तै प्रकृतिको शव आएको र उनीहरूले आइतबार भूलवश निशाको शव लगेको दाबी गरे ।
सिरहा — सिरहामा पोष्टमार्टमका लागि लगिएको शव अस्पतालबाटै गायब भएको छ । गोलबजार नगरपालिका-३ जमदहकी १६ वर्षीया निशा बानियाँको शव अस्पतालबाटै गायब भएको हो ।
निशा गत शनिबार बिहान करिब १० बजेको समयमा आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । प्रहरीले उनको शव परीक्षण र पोष्टमार्टमका लागि लहानस्थित प्रादेशिक अस्पताल लगेको थियो ।
तर, आज शव ल्याउन अस्पताल जाँदा निशाको शव अस्पतालमै नरहेको र अर्कै युवतीको शव अस्पतालले बुझ्न भनेपछि आफन्त अहिले गोलबजारस्थित पूर्वपश्चिम राजमार्गमा चक्काजाम गरेर प्रदर्शनमा उत्रिएका छन् ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रञ्जित झाले भने सप्तरीको खडक नगरपालिकाबाट पनि शनिबारै उस्तै प्रकृतिको शव आएको र उनीहरूले आइतबार भूलवश निशाको शव लगेको दाबी गरे । उनीहरूले निशाको शव जलाइसकेको र सप्तरीकी युवतीको शव यतै रहेको उनको दाबी छ ।
जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रवक्ता एवं डीएसपी रमेशबहादुर पालले यस विषयमा अनुसन्धान भइरहेको जानकारी दिए । 'हामीले यसबारेमा अनुसन्धान थालेका छौं,' उनले भने, 'यस्तो नहुनपर्ने हो, कसरी भयो भन्ने कुरा अनुसन्धानपछि खुल्छ ।'
