चिकित्सकको लापरबाहीले बिरामीको ज्यान गएको भन्दै आफन्तहरु प्रदर्शनमा उत्रिएका हुन् ।
सर्लाही — सर्लाहीको नवलपुरस्थित मोहन आयुर्वेद औषधालयमा उपचार गर्न ल्याइएकी लालबन्दी-२ पुनर्वास टोलकी १८ वर्षीया हंसु पासवानको मृत्यु भएपछि आफन्तले औषधालयमा आगजनीको प्रयास गरेका छन् ।
उपचारमा भएको लापरबाहीले बिरामीको ज्यान गएको भन्दै आफन्तहरु प्रदर्शनमा उत्रिएका हुन् ।
पाइल्सको समस्याका कारण रक्तस्राव भएपछि उपचारका लागि नवलपुरस्थित उक्त औषधालयमा ल्याइएकी हंसुको मृत्यु भएको हो। उपचार गर्दागर्दै अवस्था असामान्य बनेपछि त्यहाँबाट बाहिर पठाएका थिए ।
बिरामीलाई नमूना अस्पताल हरिवन पुर्याउँदा साँझ ४ बजेतिर चिकित्सकले मृत घोषणा गरेका थिए । आक्रोशित स्थानीयले नवलपुरमा प्रदर्शन र औषधालयमा आगजनी प्रयास गरेका थिए।
घटनापछि नवलपुर केही समय तनावग्रस्त बनेको थियो। प्रहरीले शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवातर्फ पठाएको छ । मोहन आयुर्वेद औषधालयका वैद्य रामविनय साह भने प्रहरी नियन्त्रणमा छन् । नलवपुरको अवस्था विस्तारै सामान्य बन्न थालेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी सरोजकुमार राईले बताए ।
