सिरहामा जग्गा विवादमा एक जनाको मृत्यु, स्थानीयद्वारा राजमार्ग अवरुद्ध

मृतकका आफन्त र स्थानीयले पूर्वपश्चिम राजमार्गमा चक्काजाम गरी प्रदर्शन गरिरहेका छन्।

माघ ११, २०८२

विनय आजाद

One person dies in land dispute in Siraha, locals block highway

सिरहा — सिरहामा जग्गा विवादमा एक जनाको ज्यान गएको छ । कर्जन्हा नगरपालिका-१० स्थित मनहर्वा चोकमा भएको जग्गा विवादमा स्थानीय अजमुद्दीन शेखको ज्यान गएको हो ।

शेखको मृत्युपछि आफन्त र स्थानीयले पूर्वपश्चिम राजमार्गमा चक्काजाम गरी प्रदर्शन गरिरहेका छन्। प्रहरीले राजमार्ग खुलाउन प्रयास गरे पनि सम्भव भएको छैन। जसकारण आवागमन नै बन्द भएको छ।

शेखका आफन्त मोहम्मद सद्दाम हुसेनका अनुसार मनहर्वा चोकको ऐलानी जग्गामा करिब ३५ वर्षदेखि सुकुम्बासी परिवार बस्दै आएका छन्। तत्कालीन समयमा फुसकै घर बनाएर बसेका उनीहरू पछिल्लो समय पक्की घर बनाइरहेका थिए।

तर, सुकुम्बासीहरू बसोबास गरिरहेको जग्गाको पछाडिको जमिनमा भएका केही स्थानीय भने जग्गा खाली गर्न र पक्की घर नबनाउन दबाब दिँदै आएका थिए। तर, नमानेपछि स्थानीय भरोसी गाईँलगायतले अदालतबाट निषेधाज्ञा ल्याएका थिए।

अदालतले तत्काल काम रोक्न मात्रै भनेको भए पनि भरोसीसहित स्थानीय रामदयाल साह, दिनेश महासेठलगायतले आइतबार दिउँसो प्रहरीकै उपस्थितिमा घर तोडफोड गरेको र रोक्न खोज्दा भरोसीले अजमुद्दीनलाई कुटपिट गरेको स्थानीयले बताए। 

घटनामा संलग्नहरूको खोजी, अनुसन्धान र राजमार्ग खुलाउन प्रयास भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी राजेशराज पुरीले बताए ।

विनय आजाद आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully