खुलेन तीन जेष्ठ नागरिक हत्याको रहस्य, फेरि एकको 'शंकास्पद' मृत्यु

पछिल्लो पटक गत आइतबार राति जिल्लाको खडक नगरपालिका–७ कल्याणपुरका ८५ वर्षका असर्फी साहको मृत्यु घटना पनि 'शंकास्पद' छ।

माघ ११, २०८२

विद्यानन्द राम

Mystery of murder of three senior citizens solved, another 'suspicious' death

What you should know

राजविराज — सप्तरीको खडक नगरपालिका–५ खरचुहियामा एक जेष्ठ नागरिक दम्पतीको हत्या भएको ७ वर्ष भइसक्दा पनि अझै हत्यारा पत्ता लागेको छैन्।

२०७५ फागुन १४ मा आफ्नै घरमा राति सुतिरहेका ७५ वर्षका सबुरी साह र उनकी ६५ वर्षकी श्रीमती बेचनीदेवीलाई जलाएर हत्या भएको थियो। बिहान मात्रै स्थानीयले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए। उनीहरुको शरीर पूर्णरुपमा जलिसकेकाले इलाका प्रहरी कार्यालय कल्याणपुर, कडरबोना र जिल्ला प्रहरी कार्यालय तथा प्रदेश प्रहरी कार्यालयका विशेष अनुसन्धान टोलीले संयुक्त रुपमा अनुसन्धान थालेका थिए।

तत्कालीन एसपी राजेन्द्र विष्टले जलाएर हत्या भएको पुष्टि गर्दै तालिमप्राप्त कुकुरको सहायताले अनुसन्धान अघि बढाएका थिए। तर, ७ वर्ष भइसक्दा पनि प्रहरीले हत्यारा पत्ता लगाउन सकेका छैन् भने घटनाको कारणसम्म उजागर भएन।

गत कात्तिक २ मा अज्ञात व्यक्तिको गोली प्रहारबाट जिल्लाको बोदे बर्साइन नगरपालिका–८ रजपट्टीमा ७० वर्षका रामदुलार दास (साह)को हत्या भयो। कबीर पन्थका अनुयायी रहेका उनी १०–१२ वर्षदेखि घर परिवारबाट अलगै आफ्नै जग्गामा बनाएको टिनाको सानो घरमा बस्दै आएका थिए भने छेउमा कबीर पन्थको प्रचारप्रसार गर्न केन्द्र (धार्मिक भवन) बनाउन लागेका थिए।

घरभन्दा करिब १०–१५ मिटरको दुरीमा उनलाई अज्ञात व्यक्तिले गोली प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो। उनीमाथि पछाडिबाट गोली चलाउँदा नाइटो छेउमा गोली लागेको थियो। घटनास्थलबाट २ थान खोकासमेत बरामद भएको थियो। त्यहाँ पनि तालिमप्राप्त कुकुरको सहायताले अनुसन्धान सुरु गरिएपनि हत्यारा भने अझै पत्ता लागेन। 

पछिल्लो पटक गत आइतबार राति जिल्लाको खडक नगरपालिका–७ कल्याणपुरका ८५ वर्षका असर्फी साहको शंकास्पद मृत्यु घटना पनि रहस्यमय छ। राति आफ्नै घरमा सुतिरहेका साह भोलिपल्ट मृत फेला परेका थिए। उनको मृत्यु शंकास्पद देखिएपछि त्यहाँ पनि प्रदेश प्रहरी कार्यालयबाट तालिमप्राप्त कुकुर झिकाएर अनुसन्धान थालिएको छ।  

तर, एक साता बित्न लाग्दा पनि घटनाको रहस्य खुल्न सकेको छैन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी डम्बरबहादुर पुरीले पोस्टमार्टम रिपोर्ट आएपछि स्पष्ट हुने बताए। ‘प्रारम्भिक चरणमा हामीले मृतक साहका छोराहरु र परिवारका अन्य सदस्यसँग सोधपुछ गरेका छौं,’ उनले भने, ‘थप अनुसन्धान भइरहेको छ।’ सम्पन्न परिवारका मृतक साहका प्रभुनाथ, विश्वनाथ र जोगेन्द्र गरी ३ छोरा छन्। मृतक साह कान्छो छोरा जोगेन्द्रसँग बस्दै आएका थिए। 

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully