बलात्कार आरोपमा कलैयाका अधिवक्ता पक्राउ 

सिमराको एक होटेलबाट पक्राउ परेका कानुन व्यवसायी हकमाथि बारा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको सिमरा इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेद जोशीले बताए ।

माघ ८, २०८२

लक्ष्मी साह

Kalaiya's lawyer arrested on rape charges

बारा — विवाहित २२ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले कलैया २० बसतपुर गाउँका ५० वर्षीय कानुन व्यवसायी एकरामुल हकलाई पक्राउ गरेको छ । प्रहरीले पक्राउ गरे पनि सार्वजिनक गरेको थिएन । उनी गत माघ ४ मा पक्राउ परेका हुन् ।

सिमराको एक होटेलबाट पक्राउ परेका कानुन व्यवसायी हकमाथि बारा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको सिमरा इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेद जोशीले बताए । दुवैको स्वास्थ्य परीक्षण गरी अधिवक्ता हकलाई इलाका प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । 

कलैयामा ल फर्म सञ्चालन गर्दै आएका अधिवक्ता हकले एक मुद्दाको विषयमा आफ्ना सेवाग्राहीसमेत रहेका विवाहित महिलालाई सिमराको एक होटेलमा बोलाएर करणी गरेको आरोपमा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक जोशीले बताए । 

अधिवक्ता हक बारा जिल्ला अदालतका पूर्ववैतनिक वकिल (कानुन व्यवसायी) हुन् । ती महिलाले आफन्तलाई खबर गरी बोलाएपछि आफन्तले प्रहरीलाई खबर गर्दा होटेलमा छापा हानी रंगेहात पक्राउ गरिएको उनले बताए ।

लक्ष्मी साह कान्तिपुरका बारा संवाददाता हुन् ।

Link copied successfully