पितृशोकमा रहेका प्रतिस्पर्धी उम्मेदवारको घर पुगेर उपेन्द्रले दिए समवेदना

राष्ट्रिय मुक्ति पार्टी, नेपालका कार्यकारिणी सदस्य तथा पूर्वराज्यमन्त्रीसमेत रहेका चन्द्रकान्त चौधरीको पुस २६ मा निधन भएको थियो।

माघ ७, २०८२

विद्यानन्द राम

Upendra offers condolences after visiting the home of a rival candidate who is grieving the loss of a father

राजविराज — जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पितृशोकमा रहेका प्रतिस्पर्धी उम्मेदवार अमरकान्त चौधरीको घर पुगेर समवेदना दिएका छन्। बुधबार १२ औं दिनको पुण्यतिथिमा जिल्लाका डाक्नेश्वरी नगरपालिका–५, पातोस्थित घर पुगेर यादवले पूर्वसांसद चन्द्रकान्त चौधरीको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली दिएका हुन्।

राष्ट्रिय मुक्ति पार्टी, नेपालका कार्यकारिणी सदस्य तथा पूर्वराज्यमन्त्रीसमेत रहेका चन्द्रकान्तको पुस २६ मा निधन भएको थियो। उनी २०७४ मा तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबाट सप्तरी–३ बाट निर्वाचित भएपछि जलस्रोत, ऊर्जा तथा सिँचाइ राज्यमन्त्री बनेका थिए।

किरिया बसेका पूर्वसांसद चन्द्रकान्तका छोरा अमरकान्तले पनि आगामी फागुन २१ मा हुन लागेको निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दर्ता गराएका छन्। जसपा, नेपालका अध्यक्ष यादवले पनि यही क्षेत्रबाट उम्मेदवारी दिएका हुन्।

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully