दुर्गा भगवती–४ गौर गंगापिपरा सडक खण्डको कछुअवा पुलबाट बिआर ३० एई ५१३८ नम्बरको मोटरसाइकल पुलबाट तल खसेर एक भारतीयको मृत्यु भएको जिल्ला प्रहरीका डीएसपी बिष्णुप्रदिप बस्यालले जानकारी दिए ।
रौतहट — रौतहटको दुर्गा भगवती गाउँपालिकास्थित कछुअवा पुलबाट मोटरसाइकल खसेर शनिबार साँझ एकजनाको मृत्यु भएको छ । अर्का गम्भीर घाइते छन् । मृतक र घाइते दुवै भारतीय नागरिक हुन् । मृतकको नाम भने खुलेको छैन ।
दुर्गा भगवती–४ गौर गंगापिपरा सडक खण्डको कछुअवा पुलबाट बिआर ३० एई ५१३८ नम्बरको मोटरसाइकल पुलबाट तल खसेर एक भारतीयको मृत्यु भएको जिल्ला प्रहरीका डीएसपी बिष्णुप्रदिप बस्यालले जानकारी दिए । ‘मृत्युहुने भारतीय नागरिक भन्ने खुलिसकेको छ । तर दुवै भारतीय भएकाले मृत्यु र घाइते हुने दुवैको नाम खुलेको छैन्,’ उनले भने,‘मृतकका परिवारसित सम्पर्क भइसकेको छ । उहाँहरु भारतबाट आउँदै हुनुहुन्छ । त्यसपछि मृतक र घाइतेको नाम खुल्छ ।’
प्रहरीले दुर्घटनाको कारण पत्ता लगाइसकेको छैन । तीव्रगतिमा सवारी चलाएकाले दुर्घटना भएको आशंका गरे पनि घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले मोटरसाइकलको लेगार्डमा झुन्डिएका झोलाबाट गोल्डेन ओके नामको मदिरासमेत बरामद गरेको छ ।
मदिरा सेवन गरी सवारी चलाएका कारण दुर्घटना भएको प्रहरीको अनुमान छ । गम्भीर घाइतेको प्रादेशिक अस्पताल गौरमा उपचारपछि थप उपचारका लागि वीरगंजतर्फ पठाइएको जिल्ला प्रहरीले जनाएको छ ।
