भोजपुरको पौवादुङमा गाउँंपालिका–५ सानोदुम्माका ओमनारायण राईले खंग परिवारलाई २५ हजार रुपैयाँ नगद सहयोग गरेका हुन्।
राजविराज — ज्याला–मजदुरी गरेर परिवारको दैनिकी चलाउँदै आएका सप्तरीको कञ्चनरुप नगरपालिका–३ गोरपारका उमेश खंगको मृत्यु भएपछि बिचल्लीमा परेका परिवारले आर्थिक सहयोग पाएको छ।
मजदुरी गर्दागर्दै ३२ वर्षका उमेशको गत शुक्रबार कठ्याङ्ग्रिएर मृत्यु भएको थियो। खंगकी श्रीमति दरोपतिकुमारी र २५ दिनकी छोरी नेहाकुमारीलाई छाक टार्न तथा किरिया खर्चका लागि कठिनाइ भइरहेको विषयमा ‘कान्तिपुर’मा समाचार सार्वजनिक भएपछि परिवारले सहयोग पाएको हो।
भोजपुरको पौवादुङमा गाउँंपालिका–५ सानोदुम्माका ओमनारायण राईले खंग परिवारलाई २५ हजार रुपैयाँ नगद सहयोग गरेका हुन्। २५ वर्षदेखि लण्डनमा बस्दै आएका राईले उपलब्ध गराएको सो रकम शुक्रबार सोही टोलका ज्येष्ठ नागरिक ८२ वर्षका ढुण्डिराज श्रेष्ठको हातबाट ती परिवारलाई हस्तान्तरण गरिएको छ।
आर्थिक अभावका कारण नवजात छोरीलाई न्यानो लुगा किन्न नसकेका खंगले लुगाकिन्नकै लागि अत्यधिक शीतलहरको बेला छत ढलान गर्न वडा १२ स्थित रुपनगर पुगेका थिए। छतमा काम गरिरहँदा नै उमेशको हात–खुट्टा चल्न छाडेको थियो। त्यहीँ बेहोस भएपछि उनलाई उपचारको लागि धमेश्वर अस्पताल लगिए पनि त्यहाँ उपचार सम्भव भएन । थप उपचारका लागि कञ्चनपुर अस्पताल लैजाँदा बाटोमै उनको मृत्यु भएको थियो ।
