एमबीबीएस पढ्न ओमप्रकाशलाई ओमनारायणले होस्टेल खर्चमा आधा सघाउने

भोजपुरको पौवादुङमा गाउॅंपालिका-५ सानोदुम्माका राईले ६ महिनासम्म होस्टलमा लाग्ने खर्चका लागि ५० हजार रुपैयाँ उपलब्धसमेत गराएका हुन् ।

माघ १, २०८२

विद्यानन्द राम

Om Narayan will help Om Prakash with half of his hostel expenses to study MBBS.

What you should know

राजविराज — एमबीबीएस प्रवेश परीक्षामा पूर्ण छात्रवृत्तिमा नाम निकालेका सप्तरीको बोदे बरसाइन नगरपालिका–१० खडकपुरका ओमप्रकाश दासलाई लण्डनमा बस्ने ओमनारायण राईले होस्टेलमा लाग्ने खर्चको आधा रकम सहयोग गर्ने भएका छन् ।

भोजपुरको पौवादुङमा गाउॅंपालिका-५ सानोदुम्माका राईले ६ महिनासम्म होस्टलमा लाग्ने खर्चका लागि ५० हजार रुपैयाँ उपलब्धसमेत गराएका हुन् । 

बिहीबार सोही टोलका ज्येष्ठ नागरिक ८५ वर्षका देवन दासको हातबाट ओमप्रकाशलाई सो रकम हस्तान्तरण गरिएको छ। ‘आर्थिक रुपले विपन्न जेहेन्दार विद्यार्थीलाई एमबीबीएस पढ्नका लागि केही हदसम्म सहयोग होस् भन्ने उद्देश्यले मैले व्यक्तिगत रुपमा सक्दो सहयोग गरेको छु’ राईले भने, ‘तत्काललाई ६ महिनासम्म होस्टेल खर्चमा आधा रकम पुग्ने गरी सहयोग गरेको छु तथा ६/६ महिनामा ५ वर्षसम्म थप रकम सहयोग गर्ने छु।’

पढाइ खर्च जुटाउन बिजुली मिस्त्रीको काम गर्दै एमबीबीएस प्रवेश परीक्षामा नाम निकालेका ओमप्रकाशलाई होस्टेल खर्च अभाव भइरहेको विषयमा ‘कान्तिपुर’मा समाचार प्रकाशित भएको थियो।

करिब २५ वर्षदेखि लण्डनमाबस्दै आएका राईले ओमप्रकाशलाई भइरहेको अभावबारे जानकारी पाएपछि सहयोग गरेका हुन्। राईले यसअघि पनि आर्थिक रुपले समस्यामा परेका जेहेन्दार विद्यार्थीलाई सहयोग गर्दै आएका छन्। 

गत कात्तिक १५ मा चिकित्सा शिक्षा आयोगले लिएको एमबीबीएस प्रवेश परीक्षामा ओमप्रकाशले मधेसी दलित कोटाबाट नाम निकालेका छन्।

ओमप्रकाशलाई कलेजमा भर्ना गराउँदा र दाङसम्म आउजाउ गर्न गाउँलेसँग ब्याजमा लिएको १ लाख रुपैयाँ खर्च भइसकेपछि परिवारलाई होस्टेल खर्चमा लाग्ने मासिक १५ हजार रुपैयाँ जुटाउन समस्या भइरहेको थियो।

ओमप्रकाशलाई पुस ६ मा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा भर्ना गराउॅंदा धरौटीवापत र अन्य गरी ६४ हजार ५ सय रुपैयाँ खर्च भइसकेको छ भने ड्रेसबापत लाग्ने १३ हजार ५ सय रुपैयाँ तिर्न बाँकी छ भने किताब कपीका लागि पनि खर्च जुटाइरहेका छन्। 

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully