जनकपुरमा आयोजित मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा गृहमन्त्री अर्यालले भ्रम फैलाउनेलाई कानुनी कारवाही हुने र शान्तिपूर्ण निर्वाचनको सुनिश्चितता गरिएको बताए।
जनकपुर — गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचनको माहौल देशभरि नै बनिसकेकाले शान्ति–सुरक्षाका लागि सरकारी सबै निकाय तयार अवस्थामा रहेको बताएका छन्।
गृह मन्त्रालयले बुधबार जनकपुरमा आयोजना गरेको मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै गृहमन्त्री अर्यालले एकाध घटना हुँदैमा मुलुकमा अशान्ति रहेको भ्रम फैलाउनु उचित नरहेको बताए। उनले भ्रम फैलाउनेलाई कानुनी दायरामा ल्याउने काम पनि भइरहेकाले आगामी निर्वाचन शान्तिपूर्ण र धाँधलीरहित हुने बताए।
‘निर्वाचन शान्तिपूर्ण र धाँधलीरहित हुन्छ,’ गृहमन्त्री अर्यालले भने, ‘विगतको संकट टार्न र निकास नदिँदा मुलुकमा जेन–जी आन्दोलनको मर्मअनुसार निर्वाचन हुन लागेको हो।’ उनले जेन–जी आन्दोलनमा ध्वस्त रहेका ४ सय ५० वटा संरचना जनसहभागितामा निर्माण भइरहेको र लुटिएका तर फिर्ता नआएका हतियार ल्याउन विशेष सुरक्षा योजना लागू गर्न लागिएको पनि बताए।
मधेश प्रदेशका ८ वटै जिल्लाका सुरक्षा अधिकारीहरूको उपस्थिति रहेको गोष्ठीमा निर्वाचनलक्षित शान्ति–सुरक्षाबारे दिनभर छलफल हुनेछ। गोष्ठीमा मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मधेश प्रदेशका सबै निर्वाचन क्षेत्र र मतदान केन्द्र सुगम स्थलमा नै रहेकाले शान्ति–सुरक्षाका लागि भरपर्दो तैनाथ हुनुपर्ने बताए।
‘प्रहरी ऐन कार्यान्वयन नहुँदा शान्ति–सुरक्षाको मामिलामा प्रदेश सरकार केही गर्न सक्ने अवस्था छैन,’ मुख्यमन्त्री यादवले भने, ‘प्रदेशलाई शान्ति–सुरक्षाका लागि अधिकार दिनुपर्छ। लुटिएका हतियारका कारण मधेश प्रदेशमा पछिल्लो समय सामाजिक सद्भावमा खलल पुर्याउने घटना पनि बढेका छन्। यो पनि निर्वाचनका लागि चुनौती हो।’
