प्रमुख प्रशासकीय अधिकृत मण्डलले कर्मचारीले लगाएका भ्रष्टाचारको आरोप निराधार रहेको बताए ।
What you should know
राजविराज — जनप्रतिनिधिसँग मिलेर प्रमुख प्रशासकीय अधिकृत विजयकुमार मण्डलले लुट मच्चाएको भन्दै सप्तरीको डाक्नेश्वरी नगरपालिकाका स्वास्थ्यका कर्मचारी आन्दोलित भएका छन् । उनीहरूले मंगलबार प्रमुख प्रशासकीय अधिकृत मण्डललाई ज्ञापन–पत्र बुझाउँदै गैरकानुनी कार्य अविलम्व रोक्न दुई दिनको अल्टिमेटमसमेत दिएका हुन् ।
‘पालिकालाई भ्रष्टाचारको अखडा नै बनाइसकेका छन्, भ्रष्टाचारमा नसघाइदिँदा स्वास्थ्य चौकीमा ६ महिनासम्म औषधि नै दिएका छैनन्,’ स्वास्थ्य चौकी तरहीका सिनियर अहेब अधिकृत उमेशकुमार साहले भने, ‘औषधिको माग फारम भर्दा पहिला नै बुझिलिएको भरपाइ गर्न भन्छन्, हामीले अस्वीकार गर्दा अनाहकमा दुःख दिइरहेका छन् ।’ अहिले मानसिक तनाब दिनका लागि सामूहिक रुपमै १२ वटा स्वास्थ्य चौकीका प्रमुखलाई मनपरी ढंगले सरुवा गरिदिएको उनले बताए ।
‘स्वास्थ्य शाखाका सह–संयोजक महेशकुमार पण्डितमार्फत २ दिनको कार्यक्रम गराउँदा पनि १ दिनमै सकाउँछन्,’ उनले भने, ‘त्यस विषयमा गुनासो गर्दा पूर्वाग्रही व्यवहार गरिरहँदा स्वास्थ्य चौकी नै बन्द गर्नुपर्ने अवस्था आइसकेको छ ।’
स्वास्थ्य चौकी कविलासाका सिनियर अहेब अधिकृत मो.जाकिर हुसैनले चौकीमा औषधि नहुँदा सेवाग्राहीबाट पनि गाली सुन्नुपर्ने बाध्यता खेप्दै आएको बताए । ‘स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा पनि कमिसन खोज्ने परिपाटीले स्वास्थ्यकर्मीलाई गाली खानुपर्छ,’ उनले भने, ‘अब पनि रबैया नसुधारे बाध्य भएर कामकाज ठप्प पार्छौ ।’
आन्दोलित १२ जना स्वास्थ्यकर्मीले कर्मचारीको स्तरवृद्धि कार्यमा भइरहेको लेनदेन, पहुँचका आधारमा मूल्यांकन तथा मनपरी ढंगले गरिएको सामूहिक सरुवा प्रक्रिया रोक्नुपर्ने माग गरे । माग सम्बोधन नभए आगामी निर्वाचनमा पनि नखट्ने उनीहरूले चेतावनीसमेत दिए ।
प्रमुख प्रशासकीय अधिकृत मण्डलले कर्मचारीले लगाएका भ्रष्टाचारको आरोप निराधार रहेको बताए । ‘सरुवा नियमसम्मत छ र सोहीअनुसार नै भएको हो,’ उनले भने, ‘औषधि खरिद प्रक्रियामा समय लागेकाले स्वास्थ्य चौकीमा पूर्ति हुन सकेन, अब छिट्टै पूर्ति गर्छौं ।’
नगर प्रमुख रामलखन मलाहले स्वास्थ्यका कर्मचारीले झूटो आरोप लगाइरहेको बताए । ‘जनगुनासोपछि उनीहरूलाई फेरबदल गरेका हौं, खासै दूरी पनि छैन,’ उनले भने, ‘तर, वेमतलवमा झूटा आरोप लगाएर विवाद गरिरहेका छन् ।’
