कल्याणपुरका प्रमुखको घुस मुद्दा : आज हुँदैछ सुनुवाइ

अख्तियारले कल्याणपुर-६ स्थित नाला निर्माण योजनाको कार्य सम्पन्न भई भुक्तानीको चेक दिने क्रममा उपभोक्ता समितिका प्रतिनिधिसँग एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा उनलाई रंगेहात कार्यालयबाटै नियन्त्रणमा लिएको थियो ।

पुस २८, २०८२

विनय आजाद

Kalyanpur chief's bribery case: Hearing to be held today

What you should know

सिरहा — जिल्लाको कल्याणपुर नगरपालिकाका तत्कालीन प्रमुख रामपुकार साह एक लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ परेको मुद्दाको आज  पेसी तोकिएको छ । काठमाडौंस्थित विशेष अदालतमा मुद्दाको सुनुवाइका लागि सोमबारका लागि पेसी तोकिएको हो ।

अदालतका अनुसार यो मुद्दा सुनुवाइका लागि न्यायाधीश सुदर्शनदेव भट्ट, हेमन्त रावल र उमेश कोइरालाको संयुक्त एक नम्बर इजलासमा परेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले साहलाई गत असार ३२ गते नगरपालिकाबाटै पक्राउ गरेको थियो ।

अख्तियारले कल्याणपुर ६ स्थित नाला निर्माण योजनाको कार्य सम्पन्न भई भुक्तानीको चेक दिने क्रममा उपभोक्ता समितिका प्रतिनिधिसँग एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा उनलाई रंगेहात कार्यालयबाटै नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानपछि साहले भुक्तानी दिने प्रयोजनार्थ सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस स्वरूप लिएको पुष्टि भएको आरोपसहित अख्तियारले गत साउन २३ मा उनीमाथि विशेष अदालतमा घुस रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी मुद्दा दायर गरेको थियो ।

आयोगले साहलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो एक लाख र दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम कैद माग दाबी गरेको छ । 

यसै प्रकरणमा अख्तियारले बयान फेरेको भन्दै बयान मंसिर २६ मा उजुरीकर्तासमेत रहेकी उपभोक्ता समितिकी अध्यक्ष जशोधा कुमारीमाथि पनि भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । जशोधालाई पनि एक लाख रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम कैद र जरिवाना सजाय गर्नुपर्ने माग गरिएको छ ।

जशोधाको मुद्दा पनि अदालतले निलम्बित नगर प्रमुख साहको मुद्दासँगै अगाडि बढाएर उनको मुद्दाको पेसी पनि आजै तोकेको छ ।

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully