तिलाबे खोलामा बेली ब्रिज निर्माण सुरु

जिल्ला सदरमुकाम वीरगन्जलाई जिल्लाको उत्तरी पश्चिमी भेगसँग जोड्ने गण्डक नहरको एप्रोच सडकमा रहेको साबिकको पक्की पुल अढाई वर्षअघिको बाढीले क्षतिग्रस्त भएको थियो ।

पुस २७, २०८२

शंकर आचार्य

Construction of Bailey Bridge begins on Tilabey River

What you should know

पर्सा — गत आर्थिक वर्षमा विनियोजन भइसकेको तीन करोड रुपैयाँ बजेट कटौती भएपछि निर्माण हुन नसकेको गण्डक नहरस्थित तिलाबे खोलाको बेली ब्रिजको निर्माण हाल सुरु भएको छ ।

नारायणी सिँचाइ व्यवस्थापन कार्यालय वीरगन्जका सूचना अधिकृत एवं इन्जिनियर सुरेशप्रसाद साहले उक्त बेली ब्रिज निर्माणको पुनः टेण्डर आह्वान भएपछि यसै सातादेखि बेली ब्रिज निर्माणको काम सुरु भएको बताए ।

‘तीन-चार दिनअघिदेखि ठेकेदार ममता इन्टरप्राइजेज एण्ड कन्सट्रक्सन प्रालि भक्तपुरले साइट सफा गर्ने र सामान झार्ने आदि काम सुरु गरेको छ,’ उनले भने, ‘२०८२ मंसिर २९ मा पुल निर्माणको सम्झौता भई २०८३ जेठ १ सम्ममा पुल निर्माण गरी हस्तान्तरण गरी सक्नुपर्ने छ ।’

४८ मिटर लामो बेली ब्रिज निर्माणको ठेक्का कम्पनीले २ करोड ४६ लाख ६० हजार ८ सय १२ रुपैयाँ १७ पैसामा  (मूल्य अभिवृद्धि करसहित) पाएको हो । जेनजी आन्दोलनपछि सरकारले अधिकांश योजनाको बजेट कटौती गर्दा यो पुलको बजेट पनि कटौतीमा परेको थियो ।  

जिल्ला सदरमुकाम वीरगन्जलाई जिल्लाको उत्तरी पश्चिमी भेगसँग जोड्ने गण्डक नहरको एप्रोच सडकमा रहेको साबिकको पक्की पुल अढाई वर्षअघिको बाढीले क्षतिग्रस्त भएको थियो । उक्त खोलामा गत वर्ष नै निर्माण हुने चर्चा चलेर अन्त्यमा बजेट व्यवस्थापन नभएपछि गत आवमा पनि बेली ब्रिज निर्माण गर्ने योजना अलपत्र परेको थियो । गत वर्ष पनि बेली ब्रिज निर्माणका लागि टेण्डर आह्वान गरेको थियो ।

वीरगन्ज महानगरपालिका र बहुदरमाई नगरपालिकाको सीमामा रहेको तिलाबे खोलामा बेली ब्रिज निर्माणका ३ करोड ३० लाख रुपैयाँको टेण्डर आह्वान गरेकामा प्रतिस्पर्धामा ज्वाइन्ट भेन्चरको कम्पनी मेदान्त/महम्मद इस्लामले ३ करोड १७ लाख रुपैयँमा ठेक्का सकारसमेत गरिसकेको थियो । तर बेली ब्रिज निर्माणका लागि बजेटको सुनिश्चितता नभएपछि बेली ब्रिज निर्माणको योजना अनिश्चित भएको थियो ।

जिल्लाकै अति व्यस्त सडक खण्डमा पर्ने गण्डक नहरको एप्रोच सडकमा रहेको पक्की पुल अढाई वर्षदेखि निर्माण नगरी यथास्थितिमा राखिएको छ । त्यसको विकल्पमा हालको बेली ब्रिज निर्माण गर्न थालिएको हो ।

शंकर आचार्य आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully