मजदुरी गर्दागर्दै कठ्याङ्ग्रिएर मृत्यु भएका खंग परिवारको बिचल्ली

ज्यालामजदुरी गरेर परिवार चलाउँदै आएका उनी शुक्रबार छत ढलान गर्न वडा १२ स्थित रुपनगर पुगेका थिए।

पुस २६, २०८२

विद्यानन्द राम

The plight of the Khang family who died of drowning while working

What you should know

राजविराज — मजदुरी गर्दागर्दै कठ्याङ्ग्रिएर मृत्यु भएका सप्तरीको कञ्चनरुप नगरपालिका–३ गोरपारका ३२ वर्षीय उमेश खंग परिवारको बिचल्ली भएको छ।

ज्यालामजदुरी गरेर परिवार चलाउँदै आएका उनी शुक्रबार छत ढलान गर्न वडा १२ स्थित रुपनगर पुगेका थिए। अत्यधिक चिसो र त्यसमाथि हावा चलिरहेका बेला छतमा काम गरिरहेका उमेशको हात–खुट्टा चल्न छाडेको थियो । त्यहीँ बेहोस भएपछि उनलाई उपचारको लागि धमेश्वर अस्पताल लगिए पनि त्यहाँ उपचार सम्भव भएन । थप उपचारका लागि कञ्चनपुर अस्पताल लैजाँदा बाटोमै उनको मृत्यु भएको हो। उमेशको मृत्युपछि उनकी श्रीमती दरोपतिकुमारी र १९ दिनकी छोरी नेहाकुमारीको बिचल्ली भएको हो। 

‘परिवारको गुजारा चलाउने नै उहाँ हुनुहुन्थ्यो, हिजो अत्यधिक चिसो लागिरहँदा पनि छाक टार्ने र नवजात छोरीलाई न्यानो लुगा नरहेको चिन्ताले काममा जानुभएको थियो,’ दरोपतिकुमारीले भनिन्, ‘ऐलानी जग्गामा बनाएको टहरामा बसोबास छ । बाक्लो लुगा नभएर उहाँ पातलो ज्याकेट र हाफ पाइन्ट लगाएरै मजदुरी गर्नुहुन्थ्यो ।’

मजदुरीबाट आएको ज्यालाले छोरीलाई न्यानो लुगा किनिदिने भन्दै शुक्रबार घरबाट निस्किएको दरोपतिकुमारीले सुनाइन् । ‘उहाँले आफ्नो लागि कतिपटक न्यानो लुगा किन्न सोच्नुभयो तर पैसा नपुगेर किन्नुभएन,’ उनले भनिन्, ‘छोरी जन्मिएपछि पहिला छोरीलाई किनिदिन्छु अनि म लिन्छु भन्नुहुन्थ्यो ।’ तर, दैनिक मजदुरी गर्दा पनि ज्यालाले गाउँलेसँग उठाएको ऋणको किस्ता तिर्न र छाक टार्न अपुग भइरहँदा न्यानो लुगा किन्न नसकेको उनले बताइन्।

दरोपतिकुमारीलाई श्रीमानको मृत्यु भएको पीडामा किरिया खर्च पुर्‍याउनै पनि कठिन भइरहेको छ । त्यसमाथि उनलाई कठ्याङ्ग्रिदो चिसोमा नवजात छोरीलाई एक्लै हुर्काउन र छाक टार्ने चिन्ताले सताइरहेको छ । शनिबार उमेशको दाहसंस्कार सकेर उनका भतिजा ७ वर्षका किशोरकुमार किरिया बसेका छन् । 

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत रामसेवक यादवले अत्यधिक चिसोको बेला छत ढलानको कार्य गरिरहेका उनको कठ्याङ्ग्रिएर मृत्यु भएको बताए । ‘चिसोले उहाँको हात–खुट्टा काम गर्न छोडेपछि उपचारको लागि धमेश्वर अस्पताल पनि पुर्‍याइयो,’ उनले भने, ‘त्यहाँ उपचार सम्भव नभएपछि कञ्चनपुर अस्पताल ल्याउँदा–ल्याउँदै बाटोमै खंगको मृत्यु हुन गयो ।’

नगरपालिकामा देखिएको विवादले यसपटक कठ्याङ्ग्रिदो चिसोमा पनि गरिब विपन्नलाई लुगाफाँटो वितरण गर्न नसकिएको उनको भनाइ छ । वडाध्यक्ष गुल्टेन चौधरीले आर्थिक रुपमा अति विपन्न रहेका ती परिवारको घर पुगेर थप जानकारी लिने बताए । ‘उहाँहरु अति विपन्न दलित परिवार हुनुहुन्छ,’ उनले भने, ‘के गर्न सकिन्छ, म प्रयास गर्छु ।’ 

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully