वीरगञ्जमा आर्थिक संस्कार र समृद्धिबारे बृहत अन्तरक्रिया

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद गौतमले सरकार निजी क्षेत्रमैत्री नहुँदा उद्योग–कलकारखाना धरासायी हुँदै गएको बताए।

पुस २५, २०८२

शंकर आचार्य

Extensive interaction on economic culture and prosperity in Birgunj

What you should know

पर्सा — सामाजिक संस्कार विकास बिना आर्थिक संस्कारको सुधार सम्भव नहुने भएकाले आर्थिक समृद्धि हासिल गर्न मानसिकता परिवर्तन आवश्यक भएको वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताएका छन्।

पिङ्क रोज मिडिया तथा आर्थिक संस्कारसँगै लायन्स क्लब काठमाडौं सगुनको आयोजनामा शुक्रबार वीरगञ्जमा सम्पन्न ‘आत्मनिर्भर समृद्ध वीरगञ्ज–एक विराट सम्भावना’ विषयक बृहत अन्तरक्रियामा बोल्दै प्रमुख सिंहले गलत प्रवृत्तिको खुलेर विरोध गर्नुपर्नेमा जोड दिए। युवाहरु विशेषगरी लहलहैमा लाग्ने प्रवृत्ति त्याग्नु पर्ने भन्दै उनले कसैको प्रभाव वा दबाबमा नपरी सकारात्मक र सिर्जनात्मक कार्यमा अग्रसर हुन सुझाए । 

वैभव वीरगञ्ज निर्माणका लागि सबै सरोकारवालाले हातेमालो गर्नुपर्ने बताउँदै उनले संघीय सरकारले वीरगञ्जलाई उपेक्षा गरेको आरोप समेत लगाए ।

मधेश विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा दीपक शाक्यले उद्यमशीलताको विकास अपरिहार्य रहेको बताए। आर्थिक संस्कारले नै बजारलाई चलायमान बनाउने भएकाले स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो।

नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोक टेमानीले तराई–मधेश द्रुत मार्ग निर्माणपछि वीरगञ्जको तीव्र विकास हुने विश्वास व्यक्त गरे।

वीरगन्जमा एकीकृत सुरक्षा जाँच चौकी, सुक्खा बन्दरगाह र वीरगञ्ज भन्सार कार्यालय जस्ता संरचना हुँदा पनि त्यसको प्रत्यक्ष लाभ वीरगञ्जले लिन नसकेको उनले बताए।

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद गौतमले सरकार निजी क्षेत्रमैत्री नहुँदा उद्योग–कलकारखाना धरासायी हुँदै गएको बताए। पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदिपराज पाठकले वीरगञ्जको पहिचान जोगाउन यहाँका प्रचुर सम्भावनाको उचित व्यवस्थापन र प्रवर्द्धन आवश्यक रहेको बताए।

पिङ्क रोज मिडियाकी अध्यक्ष अमृता पाण्डेले आर्थिक नगरी वीरगञ्जको दीगो समृद्धिका लागि आर्थिक संस्कार अपरिहार्य रहेको आत्मबोधका साथ कार्यक्रम आयोजना गरिएको बताइन्। संस्थाका प्रबन्ध निर्देशक राजेश महर्जनले आर्थिक चेतना र सहकार्यले मात्र वीरगञ्जको सम्भावनालाई यथार्थमा रूपान्तरण गर्न सकिने बताए । 

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully