सिरहामा आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि ३ हजार ३ सय ७२ जना निर्वाचन प्रहरी माग भएको छ।
सिरहा — निर्वाचन प्रहरीका लागि सिरहामा शुक्रबार एकै दिन झन्डै पाँच सय जनाले आवेदन दिएका छन्।
सिरहास्थित जिल्ला प्रहरी कार्यालयमा पुगेर निर्वाचन प्रहरीमा भर्ना हुन चाहने ४ सय ८१ जनाले शुक्रबार आवेदन दिएका हुन्।
जिल्ला प्रहरी सिरहाका प्रवक्ता डीएसपी रमेशबहादुर पालका अनुसार पहिलो दिन आवेदन दिएका ४ सय ९ जना पुरुष र ७२ जना महिला छन्। शुक्रबार पहिलो दिन भए पनि उत्साहजनक आवेदन परेको र शनिबारदेखि अझै बढ्ने डीएसपी पालले बताए।
सिरहामा आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि ३ हजार ३ सय ७२ जना निर्वाचन प्रहरी माग भएको छ। यसका लागि माघ १ गतेसम्म बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म दरखास्त फारम भर्न सकिनेछ । सार्वजनिक बिदाका दिनसमेत आवेदन दिन सकिने व्यवस्था गरेको छ। निर्वाचन प्रहरीका लागि आवेदन दिने उम्मेदवारको उमेर १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्नेछ । साथै, नेपाली नागरिक, सामान्य लेखपढ गर्न सक्ने, फौजदारी अभियोगमा सजाय नपाएको, कुनै राजनीतिक दलको सदस्य नरहेको, शारीरिक तथा मानसिक रूपमा स्वस्थ भएको हुनुपर्ने योग्यता तोकिएको छ ।
निर्वाचन प्रहरीको सेवा अवधि नियुक्ति मितिदेखि जम्मा ४० दिन रहनेछ भने सेवा अवधिमा उनीहरू प्रतिदिन नेपाल प्रहरी जवानको सुरू तलब स्केल बराबर पारिश्रमिक पाउनेछन् । यस्तै, खाना खर्च, तयारी खर्च तथा खाजा खर्चसमेत उपलब्ध गराइने नेपाल प्रहरीले जनाएको छ ।
