घरको कोठाबाट ९ सय ५० र खेतमा लुकाइराखेको १ सय ५७ किलो गाँजा बरामद
पर्सा — पर्सा प्रहरीले ठोरी गाउँपालिकाबाट ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ।
विशेष सूचनाको आधारमा मंगलबार राति १० बजेतिर ठोरी गाउँपालिका–३ ब्रह्मनगर, हुलाकी सडकखण्डदेखि पश्चिमतर्फ जाने कच्ची सडकखण्डको छेउमा स्थानीय ४२ वर्षीय छिरिङ दोङको दुईतले काठको घरमा इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा उक्त घरको माथिल्लो तलाको कोठाभित्र प्लास्टिकले बेरी लुकाइछिपाइ राखिएको ९ सय ५० किलो गाँजा फेला परेको थियो।
उक्त घरबाट करिब १५ मिटर उत्तरतर्फ बाँझो खेतमा पनि उखुको पातले छोपेर लुकाइछिपाइ राखिएको १० पोका गाँजा फेला परेको छ, जसको तौल १ सय ५७ किलो रहेको छ।
गाँजा फेला परेको घरधनी छिरिङ दोङको खोजतलास जारी रहेको पर्सा प्रहरी प्रवक्ता डीएसपी राजु कार्कीले जानकारी दिए ।
