गजेन्द्रनारायण सिंह अस्पतालमा एचडीयू र एनआईसीयू सेवा पुनः सुचारु

दुवै सेवा बुधबारबाट सुचारु गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.अवधेशकुमार मिश्रले बताए ।

पुस २४, २०८२

विद्यानन्द राम

HDU and NICU services resumed at Gajendra Narayan Singh Hospital

राजविराज — सप्तरीको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उच्च निर्भरता इकाइ (एचडीयू) र शिशु सघन कक्ष (एनआईसीयू) सेवा पुनः सुचारु भएको छ । अस्पतालमा एक वर्षदेखि एचडीयू र दुई महिनादेखि एनआईसीयू सेवा ठप्प थियो ।

दुवै सेवा बुधबारबाट सुचारु गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.अवधेशकुमार मिश्रले बताए । उनका अनुसार १२ शय्याको एचडीयू र चार शय्याको एनआईसीयू सेवा सुचारु भएको हो ।

‘सम्पूर्ण चिकित्सक, नर्सिङ स्वास्थ्यकर्मी, पारामेडिक्स र कर्मचारीको सक्रिय सहयोग र समन्वयमा दुवै सेवा सुचारु गरेका छौं,’ प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मिश्रले भने, ‘पूर्ण रूपमा निःशुल्क सेवा दिइरहेको एनआईसीयूमा बुधबारै एक जना नवजात शिशुसमेत भर्ना भएका छन् ।’

गत कार्तिक २३ मा विद्युत् सर्ट भई एलइडी लाइट खसेर नवजात शिशु घाइते भएपछि आफन्तले चिकित्सकमाथि हातपात गरेपछि एनआईसीयू सेवा ठप्प भएको थियो ।

विद्यानन्द राम विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully