गढमाई नगरपालिका-१, ४, ६ र ८ नम्बर वडामा बटुवा, घरमा बसेका बालबालिका, बृद्धबृद्धा, महिलाहरुलाई कुकुरले झम्टेको थियो ।
रौतहट — रौतहटको गढीमाई नगरपालिकास्थित बिभिन्न बुधबार ४८ भन्दा बढीलाई कुकुरले टोकेर घाइते भएका छन्।
कुकुरको टोकाईबाट बालबालिका, बृद्धबृद्धा, महिला घाइते भएका हुन्। घाइते मध्ये टाउकोमा चोट लागेका ५ जनालाई वीरगन्ज रेफर गरिएको छ। कुकुरको टोकाईबाट घाइते भएकाहरुलाई एन्टी रेबिज भ्याक्सिन (एआरभी) दिइएको प्रादेशिक अस्पताल गौरका प्रमुख डा. मुरारी ठाकुरले बताए।
टाउकोको भाग चोट लागेर सम्वेदनशील देखिएका बिरामीलाई बाहिर पठाएको डा. ठाकुरले कुकुरले टोकेर घाइते भएकाहरुबारे प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाललाई समेत जानकारी गराएका थिए। गौर अस्पतालका अनुसार बौलाहा कुकुरको टोकाईबाट घाइते ४८ जनामध्ये ५ जनालाई वीरगन्ज रेफर गरिएको र ४३ जनालाई एआरभी दिइएको छ।
गढमाई नगरपालिकाको १, ४, ६ र ८ नम्बर वडामा बाटोमा हिँड्ने, घरमा बसेका बालबालिका, बृद्धबृद्धा, महिलाहरुलाई झम्टेर टोकेको थियो । अधिकांशको गाला, हात र टाउकोमा चोट लागेको गौर अस्पतालले जनायो।
बौलाहा कुकुरको आक्रमण बढेपछि स्थानीयमा त्रास फैलिएको छ। गढीमाई नगरपालिकाका नगरप्रमुख श्याम यादवले बौलाहा कुकुर नियन्त्रण गर्न प्रहरी समक्ष अनुरोध गरेको बताए। ‘बालबालिकालाई विद्यालय पठाउन र बृद्धबृद्धालाई घरबाहिर निस्कन त्रासको अवस्था सिर्जना भएको छ,’ उनले भने,‘हामीले सबैलाई सचेत गराएका छौं ।’
