दुबै जनाले बोकेको कालो झोलाभित्र राखिएको ग्यालेनबाट चरेस बरामद भएको हो।
पर्सा — ग्यालेनमा राखिएको २२ किलो चरेससहित पर्सा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका १५ मुर्लीका २० वर्षीय रैयस अलीर पर्सा पोखरिया नगरपालिका ८ जगतपुर बस्ने ५५ वर्षीय मुनिलाल पटेलछन्। उनीहरुलाई प्रहरीले विशेष सूचनाको आधारमा बिहीबार बिहान ६ बजे बिन्दवासिनी गाउँपालिका २ गर्दौल चोक भन्दा पूर्व पोखरिया वीरगञ्ज सडक खण्डबाट पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय पोखरिया र अस्थायी प्रहरी पोष्ट बहुअर्वाभाट्टाबाट खटिएको टोलीले जाँच गर्दा दुबै जनाले बोकेको कालो झोलाभित्र राखिएको ग्यालेनबाट चरेस बरामद भएको हो। मुखमा घिउ राखेको ग्यालेनको भित्र चरेस फेला परेको हो।
रैयस ले बोकेको ग्यालेनबाट १० किलो ६ सय ग्राम चरेस र १ हजार ५ सय ५० रुपैयाँ बरामद भएको छ । मुनिलालले बोकेको ग्यालेनबाट ११ किलो ४सय ग्राम चरेस र २ हजार ९ सय रुपैयाँ नगद समेत बरामद भएको छ। दुबैलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको पर्सा प्रहरी प्रवक्ता डिएसपी राजु कार्कीले जानकारी दिए।
