मंगलबार बेलुकादेखि भने यहाँका बजार छिटछुट रूपमा खुले पनि आजदेखि जनजीवन सामान्यतर्फ अघि बढेको छ ।
वीरगन्ज — सर्वदलीय/सर्वपक्षीय बैठकले विगत केही दिनदेखिको विरोध प्रदर्शनका सम्बन्धमा सहमति भई टुंगो लगेपछि आज बिहानदेखि वीरगन्जको जनजीवन सामान्य बन्दै गइरहेको छ ।
लगातार दुई दिनदेखि विरोध प्रदर्शनका कारणले यहाँ ‘कर्फ्यु’ जारी गरिएको थियो । मंगलबार बेलुकादेखि भने यहाँका बजार छिटछुट रूपमा खुले पनि आजदेखि जनजीवन सामान्यतर्फ अघि बढेको छ । यहाँका विद्यालय, बजार, उद्योगधन्दा तथा कलकारखाना पनि पूर्णमा रूपमा सञ्चालनमा आएका छन् ।
पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले वीरगन्जको जनजीवन सामान्य बन्दै गइरहेको बताए । 'सर्वदलीय तथा सर्वपक्षीय बैठकमा सहमति जुटेसँगै यहाँको जनजीवन सामान्य भइरहेको हो,' उनले भने ।
प्रमुख जिल्ला अधिकारी दाहालले सामाजिक र धार्मिक आस्थासँग जोडिएको विषयमा दुई समुदायबीच विवादको अवस्था सिर्जना हुनसक्ने भएकाले सम्भावित जोखिमलाई मध्यनजर गरेर शान्ति सुरक्षा कायम राख्न कर्फ्यू आदेश जारी गरिएको बताए । सम्भावित जोखिम हुन नदिन र अवस्था सामान्य बनाउन सोमबारदेखि यहाँ कर्फ्यु लगाइएकामा सर्वपक्षीय बैठकमा सहमति जुटेसँगै कर्फ्यु हटाइएको उनले जानकारी दिए ।
स्थानीय प्रशासनले लगाउँदै आएको कर्फ्यु हटाइएसँगै वीरगन्जको बजारमा सर्वसाधारणको चहलपहल देखिएको छ भने वीरगञ्जको मेनरोडमा रहेका पसलहरू सञ्चालनमा आएका छन् । यस्तै रिक्सा, टाँगा, मोटरसाइकल तथा अन्य सवारीसाधन पनि पूर्ववत् रुपमा चलिरहेका छन् ।
जिल्ला प्रशासन कार्यालयको अगुवाइमा मंगलबार बसेको सर्वदलीय/सर्वपक्षीय बैठकले सहमति जुटाएसँगै सोमबारदेखि लगाइएको कर्फ्यु मंगलबार दिउँसो ३ बजेदेखि हटाइएको थियो ।
