मलंगवामा बजार बन्द गराउँदै हिँडेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । बजारको अवस्था अहिले सामान्य छ ।
रौतहट — सर्लाहीको मलंगवा बजार बन्द गराउँदै हिँडेका ६ जनालाई सर्लाही प्रहरीले बुधबार पक्राउ गरेको छ । उनीहरू अहिले मलंगवा प्रहरी हिरासतमा छन् । प्रहरीले पक्राउ परेकाहरूबारे सोधपुछ गरिरहेको छ ।
बुधबार बिहान मलंगवा बजार बन्द गराउँदै हिँडेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी सर्लाहीका प्रवक्ता एवं डीएसपी सरोजकुमार राईले बताए ।
‘बजार बन्द गराउने क्रममा पक्राउ परेकाहरूसँग सोधपुछ गरिरहेका छौँ,’ उनले भने, ‘बिहान केहीबेर तनाव जस्तै भए पनि अहिले अवस्था सामान्य छ ।’ प्रहरीले पक्राउ परेकाहरूको नाम सार्वजनिक गरेको छैन ।
मलंगवाको बजार आंशिक खुले पनि अधिकांश व्यापारीले बन्द गरेका छन् । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख डीआईजी गोविन्द थपलियाले मलंगवामा बिहान बजार बन्द गराउँदै हिँडेकाहरू पक्राउ परे पनि अन्य जिल्ला शान्त रहेको बताए ।
