सुडी समाजद्वारा राजनारायणलाई आर्थिक सहयोग

सिरहाको मिर्चैयाका राजनारायण महतोले आर्थिक विपन्नताका बीच पनि एमबीबीएसमा पूर्ण छात्रवृत्तिमा नाम निकालेका थिए ।

पुस २२, २०८२

विनय आजाद

Sudi Samaj provides financial support to Raj Narayan

सिरहा — आर्थिक विपन्नताका बीच एमबीबीएसमा पूर्ण छात्रवृत्तिमा नाम निकालेका मिर्चैयाका राजनारायण महतोलाई आर्थिक सहयोग प्राप्त भएको छ । सुडी समाज, मिर्चैयाले राजनारायणलाई मंगलबार आर्थिक सहयोग गरेको हो ।

राजनारायणलाई मिर्चैया नगरपालिका-६ मटियर्वास्थित सुडी समाज धर्मशालामा एक कार्यक्रम आयोजना गरी ५१ हजार रुपैयाँ आर्थिक सहयोगसहित सम्मान गरेको स्थानीय अगुवा राजकिशोर साहले बताए ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्जमा भर्ना भएका साह पहिलो प्रयासमै एमबीबीएसमा पूर्ण छात्रवृत्तिमै नाम निकाल्न सफल भएका हुन् । उनले २०७९ सालमा एसईई र २०८२ मा कक्षा १२ उत्तीर्ण गरेका थिए ।

राजनारायणका जेठा दाजु राजु महतो पनि पूर्ण छात्रवृत्तिमै एमबीबीएस अध्ययनरत छन् । आठ वर्षअघि क्यान्सरका कारण बुवा गुमाएका उनीहरूलाई आमा रेखा पंजियारले गाउँमै किराना पसल गरी पढाएकी हुन् ।

विनय आजाद आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully