नेपाली नक्कली नोट भारतमा छाप्ने र भरियामार्फत नेपालमा सप्लाई गर्ने गरेको खुलेको हो ।
What you should know
बारा — नेपाली नक्कली नोट भारतमा छापेर नेपाल सप्लाई गर्ने गरेको पाइएको छ । त्यसको सञ्जाल नेपाल–भारतसम्म बिस्तार भएकोसमेत खुलेको छ ।
नेपाली नक्कली नोट भारतमा छाप्ने र भरियामार्फत नेपालमा सप्लाई गर्ने गरेको खुलेको हो । यसको 'नेक्सस'बारे प्रहरी परिचालित भएर भारतसम्म पुगेर पत्ता लगाएको हो ।
गत पुस १५ मा काठमाडौं गोकर्णेश्वर–८ मा ६ जना एक हजार नक्कली नोटसहित पक्राउ परेपछि यसको जालोबारे अनुसन्धान गर्दै जाँदा भारतसम्म 'नेक्सस' जोडिएको पाइएको हो ।
पक्राउ परेका ती ६ जनाको बयानको आधारमा बारा प्रहरीले कलैया उपमहानगरपालिका–२ का गौरीशंकर यादवलाई पक्राउ गरेको थियो । यादवको बयानले उनी स्वयंलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख नरेन्द्र कुँवर सुरक्षा टिमसहित भारतीय समकक्षीको सहयोगमा गत आइतबार सिधै भारतको मोतिहारी जिल्ला मुफसिल थाना क्षेत्रका लाला पटौना गाउँ पुगेर छापा हानेका थिए । तर उनी आफैं भारत गएको भने स्वीकार्दैनन् ।
त्यहाँबाट छापा हानेर बारा जिल्लाकै फेटा गाउँपालिका–३ घर भएका रवि श्रीवास्तवलाई पक्राउ गर्नुका सााथै उनको कोठाबाट डेस्कटप, सीपीयुसहित कम्प्युटर, रंगिन कागज, छापिएको नक्कली ५ सय दरका १ सय ३७ वटा नोट, केही भारतीय नोट, नक्कली अमेरिकी पेस्तोललगायत बरामद भएको थियो ।
मुद्दाको उठान र यो केस काठमाडौंबाट सुरु भएकोले पक्राउ परेका यादव र श्रीवास्तवसहित बरामद सामान काठमाडौं प्रहरी परिसर पुर्याइएको प्रहरी उपरीक्षक कुँवरले बताए । उनले सीमा वारीबाट श्रीवास्तवलाई पक्राउ गरिएको दाबी गरे । 'चलाखी र पूर्ण सुरक्षा जोखिम मोलेर यसको नेपाल–भारत नेक्सस पत्ता लागेको हो,' उनले भने, 'यतिकोसम्म यसअघि पत्ता लागेको थिएन ।'
सीमावर्ती क्षेत्रमा बारम्बार नक्कली नोटसहित मानिस पक्राउ पर्ने गरेका हुन् । तर छापिने ठाउँसम्म प्रहरी अनुसन्धानको क्रममा न पुग्न सकेको थियो न दसीप्रमाण र छापिने समानसहित पक्राउ परेको थियो । मानिस र नक्कली नोट बरामद पछि प्रहरीले नेपालका लागि वीरगन्जका भारतीय वाणिज्य दूतावासमा सम्पर्क गर्ने गरेका थिए । उपलब्धि भने थिएन । यो नेक्सस सिधैं भारत पुगेर पत्ता लागेको प्रहरी अधिकारीहरू बताउँछन् ।
