वीरगन्जका निश्चित क्षेत्रमा लगाइएको कर्फ्यु मंगलबार दिउँसो साढे ३ बजेदेखि हटाइएको हो ।
पर्सा — सोमबार साँझदेखि वीरगन्जको निश्चित क्षेत्रमा लगाइएको कर्फ्यु मंगलबार दिउँसो साढे ३ बजेदेखि हटाइएको छ ।
जिल्ला प्रशासन कार्यालयले विज्ञप्ति जारी गर्दै मंगलबार सर्वदलीय तथा सर्वपक्षीय बैठकमा भएको सहमति र हाल जिल्लाको शान्ति सुरक्षाको अवस्था सुदृढ हुँदै गएको, नागरिकको स्वतन्त्र आवागमन, व्यापार व्यवसाय लगायतको गतिविधि निर्वाध रुपमा गर्न दिई जीवनयापन सहज गर्नुपर्ने समेतका कारण कर्फ्यु आदेश हटाइएको उल्लेख छ ।
सोमबार साँझ ६ बजेदेखि बिहान ८ बजेसम्म, त्यसपछि मंगलबार बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म र त्यसपछि मंगलबार साँझ ६ बजे सम्मका लागि कर्फ्युलाई निरन्तरता दिइएको थियो ।
यसअघि सोमबार दिउँसो १ बजेदेखि निषेधाज्ञा जारी गरिएकोमा स्थिति नियन्त्रणमा आउन सकेको थिएन । वीरगन्जको पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावरहाउस चोक र दक्षिणमा शंकराचार्य गेट क्षेत्र भित्र कर्फ्यु लगाइएको थियो ।
कर्फ्यु हटेलगत्तै वीरगन्जको जनजीवन सामान्य बन्दै गएको छ । धनुषाको कमला नगरपालिका–६ सखुवा मरानस्थित मस्जिदमा शनिबार राति भएको तोडफोडका विरोधमा वीरगन्जका मुस्लिम समुदायले आइतबार वीरगन्जमा प्रदर्शन गरेका थिए । मुस्लिम समुदायको प्रदर्शनको प्रतिक्रियामा हिन्दु समुदायले पनि आइतबार राति र सोमबार बिहानैदेखि प्रदर्शन गरेपछि वीरगन्जको स्थिति तनावग्रस्त भएको थियो ।
