संगठनको आन्तरिक शुद्धीकरणका लागि मधेशका १४ घुमुवा प्रहरी हेडक्वार्टर तानिएका हुन् ।
What you should know
बारा — संगठनको आन्तरिक शुद्धीकरणका लागि मधेशका १४ घुमुवा प्रहरी हेडक्वार्टर तानिएका छन् । नेपाल-भारत सीमावर्ती क्षेत्रमा सीमा वारपार नक्कली नोट, हातहतियार तथा लागूऔषधसहित अन्य जिन्सी सामानका अवैध कारोबार (ओसारपसार) गर्ने व्यापारी, तस्करहरूसित मिलेमतो गरी आर्थिक लाभ लिने र जिल्लाका प्रहरी अधिकारीहरूलाई खुसी पार्ने ती घुमुवा प्रहरीलाई अनुसन्धानका लागि तानिएको हो ।
उनीहरूलाई पुस २१ गते हेडक्वार्टर अन्तर्गत सुपरिवेक्षण तथा अनुगमन महाशाखामा संगठनको पोसाकसहित पेस हुन पुस २० मा हेडक्वार्टरबाट मधेश प्रहरी कार्यालयमा निर्देशन भएको थियो ।
मधेश प्रदेशका प्रहरी प्रमुख गोविन्द थपलियाले ती प्रहरीमाथि उजुरी परेपछि छानबिनका लागि केन्द्रमा तानिएको बताए । तानिएका ती प्रहरीहरूको बारेमा प्रहरी महानिरीक्षकको सचिवालयमासमेत बोधार्थ जानकारी गराइएको छ । तानिएका प्रहरीमा जवानदेखि असईसम्मका छन् ।
पर्सा, बारा, सर्लाही, धनुषा, सप्तरीका उनीहरू हुन् । अधिकांश ती घुमुवा प्रहरीहरू जिल्ला प्रहरी कार्यालयबाट खटाइएका हुन् । यसअघि यी जिल्लाहरूमा कैयन् घुमुवा प्रहरीहरू विभिन्न अपराधहरूमा संलग्न भएको आरोपमा कानुनी दायरामा आइसकेका छन् । ती घुमुवा प्रहरीहरूलाई जिल्लाका प्रहरी प्रमुख र उपप्रमुख (एसपी/डीएसपी) र प्रदेशका प्रहरी प्रमुखहरूले विश्वास पात्रको नाममा खटाउने यहाँ चलन रहिआएको छ । तिनै घुमुवाहरू आर्थिक लाभ कमाएर खुसी पार्ने गरेका छन् । उनीहरू लामो समयदेखि घुमिफिरी मधेशकै जिल्लामा रहने गरेको पाइएको छ ।
एक उच्च प्रहरी अधिकारीका अनुसार अपराध अनुसन्धानको लागि इन्टिलिजेन्सको नाममा गोप्य सूचना संकलक भनेर चिनिने सादा पोसाकका उनीहरूको दिनचर्या भने तस्कर, व्यापारीहरूले गर्ने अवैध कारोबार बापत रकम असुल्ने र प्रहरी अधिकारीहरूको विश्वास पात्र भई खुसी पार्ने हो । तानिएका प्रहरीमध्ये बढी सर्लाही र पर्साका परेका हुन् ।
सप्तरीदेखि पर्साका ती बदनाम घुमुवाहरूमाथि विभिन्न ठाउँबाट उजुरी परेपछि अनुसन्धान र छानबिनका लागि तानिएको प्रहरी प्रधान कार्यालयका केन्द्रीय प्रवक्ता डीआईजी अबिनारायण काफ्लेले बताए । 'संगठनकाे आन्तरिक शुद्धीकरणअन्तर्गत अनुसन्धान सुरु भएको छ,' प्रवक्ता काफ्लेले भने, 'फाइन्डआउट भएपछि सार्वजनिक गरिने छ । छानबिनको सिलसिलामा उनीहरू तानिएका हुन् ।'
मधेशका यी जिल्लाहरूमा जिल्लाका प्रमुख र उपप्रमुख प्रहरी अधिकारीहरू (एसपी र डीएसपी) को सुरक्षाका लागि फीटको नाममा पीएसओ र मुद्दा अनुसन्धानमा पोख्तको नाममा थुप्रै प्रहरीहरू लामो समयदेखि बसेर प्रहरी अधिकारीहरूको अवैध आर्थिक स्रोत रूपमा कार्य गर्दै आएपनि त्यसकोसमेत छानबिनको दायरामा ल्याउनुपर्ने प्रहरी अधिकारीहरू बताउँछन् । घुमुवाहरू प्रहरी प्रमुख र उपप्रमुखहरूको आर्थिक स्रोत मात्र नभई मुद्दामा खप्पिस कहलिने र पीएसओेमा फीट कहलिनेहरू पनि हाकिमहरूको अवैध आर्थिक स्रोत भएको उनीहरु बताउँदै आएका छन् ।
यी हुन् तानिएका घुमुवा प्रहरी :
प्रसनि - भुलेन्द्र गिरी, श्रीपुर/ पर्सा
वरिष्ठ हवल्दार - राजमंगल सिंह, जिप्रका, पर्सा
वरिष्ठ हवल्दार - रामप्रसाद राय यादव, तिलही प्रहरी चौकी, सप्तरी
वरिष्ठ हवल्दार - मातृकाप्रसाद महतो, लहान इप्रका, सिरहा
प्रहरी हवल्दार - निरजकुमार यादव, जिप्रका पर्सा
प्रहरी हवल्दार - निरज सिंह, जिप्रका पर्सा
प्रहरी हवल्दार - भाग्य नारायण साह रौनियार, जिप्रका सर्लाही
प्रहरी हवल्दार - रामेशकुमार यादव, जिप्रका धनुषा
प्रहहरी हवल्दार - लीलाबहादुर बस्नेत, नेपाल प्रहरी ट्राफिक व्यवस्थापन पथलैया, बारा
सहायक हवल्दार - मोहम्मद सद्दाम हुसेन, जिप्रका बारा
सहायक हवल्दार - नुरूल होदा मियाँ, जिप्रका सर्लाही
सहायक हवल्दार - फिरोज मियाँ, जिप्रका पर्सा
जवान - चन्दन यादव, इप्रका ढल्केवर, धनुषा
जवान - मजरूल होदा, जिप्रका सर्लाही
स्रोत - प्रहरी
