एक लाख रुपैयाँ ब्याजमा लिएर दासलाई पुस ६ मा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङमा भर्ना गराए पनि होस्टेल, ड्रेस, किताब-कपी खर्च अभाव रहेको परिवारको गुनोसो ।
राजविराज — सप्तरीको बोदे बरसाइन नगरपालिका–१० खडकपुरका ओमप्रकाश दासलाई जागरुक युवा अभियानले आर्थिक सहयोग गरेको छ ।
एमबीबीएस प्रवेश परीक्षामा पूर्ण छात्रवृत्तिमा नाम निकालेका दासलाई होस्टेललगायत खर्च अभाव भइरहँदा अभियानमा आबद्ध युवाहरूले उनको घरमै पुगेर २१ हजार ५ रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।
‘विपन्न परिवारका विद्यार्थीलाई पढाइको लागि होस्टेल खर्चमा समस्या भइरहेको विषयमा जानकारी पाएपछि हामीले तत्काल सक्दो सहयोग गर्यौ,’ अभियान अगुवा पुष्पेन्द्र साहले भने, ‘आगामी दिनमा पनि हामी सहयोग गर्छौ ।’ अभियानमा आबद्ध युवाहरु सुरेन्द्र साह, राजु यादव, राजकिशोर यादव, शिवनाथ साह लगायतले सहयोग गरेका हुन् ।
दलित विपन्न परिवारका दासले पढाइ खर्च जुटाउन बिजुली मिस्त्रीको काम गर्दै एमबीबीएस प्रवेश परीक्षाका लागि तयारी गरेका थिए । चिकित्सा शिक्षा आयोगले गत कार्तिक १५ मा लिएको एमबीबीएस प्रवेश परीक्षामा उनले मधेसी दलित कोटाबाट नाम निकालेका हुन् ।
परिवारले एक लाख रुपैयाँ ब्याजमा लिएर दासलाई पुस ६ मा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङमा भर्ना गराए पनि होस्टेल, ड्रेस, किताब र कपी खर्च अभाव रहेको जनाएको छ । कलेजमा भर्ना गराउँदा धरौटीबापत र अन्य गरी ६४ हजार ५ सय रुपैयाँ र दाङ आउजाउ गर्न ब्याजमा लिएको केही रकम खर्च भइसकेको छ ।
अझ ड्रेसबापत लाग्ने १३ हजार ५ सय रुपैयाँ तिर्न बाँकी छ भने होस्टेल खर्चमा लाग्ने मासिक १५ हजार रुपैयाँ जुटाउन समस्या भइरहेको विषयमा ‘कान्तिपुर’ले यसअघि समाचार प्रकाशन गरेको थियो ।
