इलाका प्रशासन कार्यालय बर्दिवासका प्रमुख माधवराज न्यौपानेसहित बर्दिवास उद्योग वाणिज्य संघ, उपभोक्ता संरक्षण मञ्च, प्रहरी र सरोकारवालाले आइतबार करिब ३ घण्टा बजार अनुगमन गरेका हुन् ।
What you should know
महोत्तरी — महोत्तरी प्रशासनले आइतबार बर्दिवास बजार अनुगमनपछि व्यवसाय संचालनका क्रममा देखिएका त्रुटि सच्याएर अघि बढ्न व्यवसायीलाई सुझाव दिएको छ ।
बर्दिवासमा चलेका मार्ट, किराना पसल, डिपार्टमेन्ट स्टोर, कस्मेटिक पसल, मिठाई पसल र मसाज सेन्टरहरूको अनुगमन गर्दै मापदण्ड र नियमअनुसार व्यवसाय संचालन गर्न प्रशासनले व्यवसायीलाई सजग र सचेत गराएको हो ।
इलाका प्रशासन कार्यालय बर्दिवासका प्रमुख माधवराज न्यौपानेसहित बर्दिवास उद्योग वाणिज्य संघ, उपभोक्ता संरक्षण मञ्च, प्रहरी र सरोकारवालाले आइतबार करिब ३ घण्टा बजार अनुगमन गरेका हुन् । अनुगमनका क्रममा व्यवसायको कागजपत्र चुस्त नदेखिएको, म्याद गुज्रिएका सामान भेटिएको, उत्पादन मिति नभएको सामान राखिएको, मूल्य सूची नराखिएको, बिल काटेर व्यापार नगरेको जस्ता समस्या देखिएको इलाका प्रशासन प्रमुख न्यौपानेले बताए ।
पछिल्लो समय मसाज सेन्टरलाई लिएर अनैतिक कार्य भइरहेको अवाज उठेकाले मसाज सेन्टरमा समेत अनुगमन गरिएको उनले बताए । रोयल र रेडरोड मसाज सेन्टरमा बिल काटेर व्यवसाय नगरेको र मसाज गर्ने व्यक्तिको व्यक्तिगत विवरण नराखेको पाइएकाले सबैको व्यक्तिगत परिचयपत्रसँगै विवरण राख्न र बिल काटेर व्यवसाय गर्न सचेत गराएको न्यौपानेले बताए ।
घर संसार र बर्दिवास घर संसार, मेट्रो मार्ट, महतो किराना पसल, एमआर बेकरी, प्रनु कस्मेटिक एण्ड गिफ्ट हाउस, श्रीराम स्विट एण्ड चाट हाउस र मजास सेन्टरहरूमा भएको अनुगमन पहिलो पटक भएकाले कारबाही नगरेर सजग र सचेत मात्रै गराएको प्रशासनले जनाएको छ । अर्कोपटक पुनः अनुगमन गर्दा त्रुटि देखिएमा कानुनअनुसार जरिवाना र कारबाही गर्ने भन्दै व्यवसायीलाई अनुगमन समितिले चेतावनीसमेत दिएको उपभोक्ता संरक्षण मञ्चका दीपेन्द्र पराजुलीले बताए ।
