वीरगन्ज–ठोरी हुलाकी सडक निर्माणसँगै चार वर्षयता पर्यटन गतिविधि फस्टाउन थालेपछि ठोरी गुल्जार बन्दै गएको हो।
What you should know
पर्सा — कुनै समय जिल्लाकै दुर्गम ठोरी गाउँपालिकामा पर्यटीक गतिविधि बढेपछि धमाधम सुविधायुक्त होटल खुल्न थालेका छन्।
वीरगन्ज–ठोरी हुलाकी सडक निर्माणसँगै चार वर्षयता पर्यटन गतिविधि फस्टाउन थालेपछि ठोरी गुल्जार बन्दै गएको हो।
ठोरी भन्सार क्षेत्रमा चार वर्षयता एक दर्जन बढी रिसोर्ट, होटल, रेष्टुरेन्टसन्चालनमा आएका छन्। थप आधा दर्जन रिसोर्ट, होटललगायतका पर्यटकीय संरचना निर्माणाधीन छन् ।
कोरोनाकालपछि ‘द फुड स्याक’ नामक रेष्टुरेन्ट सन्चालन गरेका युवा व्यवसायी सुशान्त सिंह ठकुरीले अहिले व्यवसाय विस्तार गरी ‘द ठोरी नेचर रिसोर्ट’ निर्माण गर्ने क्रममा छन्।
१५ लाख रुपैयाँ रेष्टुरेन्टमा लगानी गरेका उनले हाल रिसोर्टमा ३ करोड लाख ५० हजार लगानी गरेका छन्।
पुर्ख्याैली डेढ बिघा जग्गामा उनले ७ भिल्ला (कोठा), १ सय २० जना अट्ने क्षमताको रिसेप्सन हल, स्विमिङ पुललगायत निर्माण गरिसकेका छन् । यसबाहेक स्पा, जिमलगायतका पूर्वाधार थप्दै जाने उनको योजना छ ।
रिसोर्टलाई अहिले उनी अन्तिम रुप दिने र यसमा थप एक करोड लगानी गर्ने योजनामा छन् । ‘अहिले फिनिसिङको काम अन्तिम चरणमा छ,’ उनले भने, ‘थप एक करोड लगानी गरेको खण्डमा योजना अनुरुपको रिसोर्ट तयार हुने छ ।’ भारतीय सीमानजिक रहेको ठोरीमा आफूले पनि भारतीय ग्राहकहरुलाई लक्षित गरी रिसोर्ट निर्माण गरिरहेको उनले बताए ।
चार वर्षयता मात्र ठोरीमा सानाठूला गरी एक दर्जन होटल, रिसोर्ट, रेष्टुरेन्टलगायत सन्चालनमा आएको र आधा दर्जन निर्माणाधीन रहेको बताए। यहाँको होटल तथा पर्यटन व्यवसायमा मात्रै करिब ५० करोड रुपैयाँ बढी लगानी भएको उनले सुनाए।
हाल ठोरी आउने ७० प्रतिशत भारतीय र ३० प्रतिशत आन्तरिक पर्यटक हुने गरेका छन्। भारतको जमुनिया, नरकटियागन्ज, बेतिया, लौरिया, मोतिहारी, पटनासम्मका पर्यटक ठोरी आउने गरेको उनले बताए।
ठोरी–३ नयाँबस्तीमा १ करोड २५ लाख रुपैयाँ लगानीमा ‘लर्डस् अफ ठोरी’ नामक होटल निर्माण सकेर संचालनको तयारीमा रहेका वीरगन्जका व्यवसायी जिम्दार राउत कुर्मी आफूले ठोरीमा पर्यटनको राम्रो सम्भावना देखेर यहाँ लगानी गर्न आकर्षित भएको बताए।
उनले ८ कोठा, बार र स्विमिङ पुलसहितको होटल निर्माण गरेका छन्। एक महिनाभित्रै होटल सञ्चालनको योजना रहेको उनले बताए। ठोरीमा स्तरीय होटलको अभाव देखेर आफुले यो व्यवसायमा हात हालेको उनले बताए ।
