पढाइ खर्च जुटाउन बिजुली मिस्त्रीको काम गर्दै ओमप्रकाशले चिकित्सा शिक्षा आयोगले गत कात्तिक १५ मा लिएको एमबीबीएस प्रवेश परीक्षामा मधेसी दलित कोटाबाट नाम निकालेका छन्।
राजविराज — एमबीबीएस प्रवेश परीक्षामा पूर्ण छात्रवृत्तिमा नाम निकालेका सप्तरीको बोदे बरसाइन नगरपालिका–१० खडकपुरका ओमप्रकाश दासलाई नगरपालिकाले सहयोग गर्ने भएको छ ।
दलित विपन्न परिवारका दासलाई अभाव भइरहेको विषयमा ‘कान्तिपुर’मा समाचार प्रकाशित भएपछि नगरप्रमुख आतेशकुमार सिंहले उनको घरमा पुगेर थप जानकारी लिएका हुन् ।
‘पढाइमा सहयोग गर्ने उद्देश्यले हामी उहाँको घरै पुगेर थप जानकारी लिएका छौं,’ नगरप्रमुख सिंहले भने, ‘नगरकार्यपालिकाबाट निर्णय गरेरै उहाँलाई सहयोग गर्छौ, लगनशीलताका साथ दुःख गरेर पूर्ण छात्रवृत्तिमा नाम लिकाल्नुभएका विद्यार्थीलाई आर्थिक अभावले पढाइ प्रभावित हुन दिँदैनौं ।’
पढाइ खर्च जुटाउन बिजुली मिस्त्रीको काम गर्दै ओमप्रकाशले चिकित्सा शिक्षा आयोगले गत कात्तिक १५ मा लिएको एमबीबीएस प्रवेश परीक्षामा मधेसी दलित कोटाबाट नाम निकालेका छन्।
परिवारले गाउँलेसँग ब्याजमा लिएको १ लाख रुपैयाँ उनलाई भर्ना गराउँदा र दाङसम्म आउजाउ गर्नमा खर्च भइसकेपछि उनीहरुलाई होस्टेल खर्चमा लाग्ने मासिक १५ हजार रुपैयाँ जुटाउन समस्या भइरहेको छ।
ओमप्रकाशलाई पुस ६ मा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा भर्ना गर्दा धरौटीवापत र अन्य गरी ६४ हजार ५ सय रुपैयाँ खर्च भइसकेको छ भने अझ ड्रेसबापत लाग्ने १३ हजार ५ सय रुपैयाँ तिर्न बाँकी छ ।
