स्थानीय ४७ वर्षीय रामईश्वर महतोको टाउको काटिएको अवस्थामा शव फेला परेको हो।
सर्लाही — ईश्वरपुर नगरपालिका–२, राइटरखोरस्थित सागरनाथ वन विकास परियोजनामा कार्यरत वन चौकीदारको बीभत्स हत्या गरिएको छ।
परियोजनामा ज्यालादारीमा वन हेरालुको काम गर्दै आएका स्थानीय ४७ वर्षीय रामईश्वर महतोको टाउको काटिएको अवस्थामा शव फेला परेको हो।
काटिएको टाउको अझै फेला पर्न नसकेको प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए । उनले मृतकको टाउको खोज्ने प्रयासमा प्रहरी लागेको बताए ।
घरबाट करिब ५ सय मिटर टाढा जङ्गलमा महतोको टाउकोबिनाको शव फेला परेको स्थानीयले जनाएका छन् । शनिबार बिहान जङ्गलमा रुख काटेको आवाज सुनेर त्यसतर्फ गएका महतो दिउँसोसम्म घर नफर्किएपछि खोजी गर्दा शव भेटिएको हो।
प्रहरीले एक जना शंकास्पदलाई व्यक्तिलाई पक्राउ गरी तालिम प्राप्त कुकुरको सहयोगमा अनुसन्धान जारी राखेको जनाएको छ। घटनापछि स्थानीयवासी त्रसित बनेका छन् ।
