रक्सौल चेम्बर अफ कमर्शका अध्यक्ष राकेशकुमार कुशवाहले रक्सौल क्षेत्रमा देखिएको सवारी जामको स्थायी समाधानका लागि ओभरब्रिज निर्माणसम्बन्धी योजना स्वीकृत भइसकेको र छिट्टै निर्माण कार्य सुरु हुने जानकारी दिएका छन् ।
What you should know
पर्सा — वीरगन्ज उद्योग वाणिज्य संघ र भारतको रक्सौल चेम्बर अफ कमर्शबीच आपसी व्यापारिक सम्बन्ध सुदृढ गर्ने उद्देश्यले स्वागत तथा सौहार्दपूर्ण भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
वीरगन्ज उद्योग वाणिज्य संघको आयोजनामा बिहीबार सम्पन्न कार्यक्रममा संघका कार्यवाहक अध्यक्ष माधव राजपालले रक्सौल चेम्बर अफ कमर्शका पदाधिकारीलाई स्वागत गरेका थिए । राजपालले नेपाल–भारत सीमावर्ती क्षेत्र रक्सौलमा दिनप्रतिदिन बढ्दै गएको सवारी जाम, अव्यवस्थित गाडी पार्किङ, नेपाली नागरिकप्रति भारतीय सुरक्षाकर्मीको असमान व्यवहार र दृष्टिकोण तथा रक्सौल क्षेत्र लागूऔषध कारोबारको अखडा बन्दै गएको विषयप्रति गम्भीर चिन्ता व्यक्त गरेका थिए ।
रक्सौल चेम्बर अफ कमर्शका अध्यक्ष राकेशकुमार कुशवाहले रक्सौल क्षेत्रमा देखिएको सवारी जामको स्थायी समाधानका लागि ओभरब्रिज निर्माणसम्बन्धी योजना स्वीकृत भइसकेको र छिट्टै निर्माण कार्य सुरु हुने जानकारी दिए । साथै, लागूऔषध कारोबार नियन्त्रणका लागि रक्सौलका प्रहरी प्रमुख स्वयं सक्रिय रहेको बताउँदै हालको अवस्था अघिल्लो समयको तुलनामा धेरै हदसम्म सुधारिएको दाबी गरे । नेपाली नागरिकप्रति भारतीय प्रहरीको व्यवहारबारे उठाइएका गुनासोप्रति संवेदनशीलता व्यक्त गर्दै उनले यस विषयमा सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक पहल गरिने प्रतिबद्धता पनि जनाए।
रक्सौल चेम्बर अफ कमर्शका महासचिव शम्भुप्रसाद चौरसियाले सीमा क्षेत्रका साझा समस्या समाधानका लागि नेपाल–भारतका उद्योगी तथा व्यवसायीबीच निरन्तर संवाद, आपसी विश्वास र सहकार्य अपरिहार्य रहेको बताए ।
वीरगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष आशिषकुमार लाठले यस्ता भेटघाटले सीमा क्षेत्रको व्यापार, आवागमन तथा आपसी सम्बन्ध सुदृढ गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै आउँदा दिनहरूमा समेत यस्ता छलफल र अन्तरसम्वाद हुनुपर्नेमा जोड दिए ।
