२११ औं पर्सागढी बिजयोत्सव मनाइने

कार्यक्रममा खुकुरी नाच, नेपाली सेनाको ब्याण्ड बाजा, स्थानीय थारू संस्कृतिको नाच प्रस्तुत गरिने छ । उक्त अवसरमा ऐतिहासिक र्‍याली पनि निकालिने छ ।

पुस १७, २०८२

शंकर आचार्य

211th Parsagarhi Victory Day to be celebrated

What you should know

पर्सा — पर्सागढी नगरपालिका, पर्सागढी मन्दिर व्यवस्थापन समिति र श्रीजंग गण वीरगञ्जको संयुक्त आयोजनामा २ सय ११औँ पर्सागढी विजय उत्सव यही पुस १९ गते मनाइने भएको छ ।

पर्सागढी मन्दिर परिसरमा आज बुधबार आयोजित पत्रकार सम्मेलन मार्फत विजय उत्सवको तयारीबारे आयोजक समितिले जानकारी गराएको हो ।

उक्त अवसरमा पर्सागढी नगरपालिका स्वास्थ्य तथा सामाजिक विकास शाखा प्रमुख नारायण पौडेलले कार्यक्रमसम्बन्धी विस्तृत जानकारी दिएका थिए ।

विक्रम सम्वत् १८७१ साल पुस १८ र १९ गते इस्ट इन्डिया कम्पनीको ब्रिटिस सेनासँग भएको लडाइँमा नेपालले विजय हासिल गरेको ऐतिहासिक स्मरणमा हरेक वर्ष पुस १९ गते यो विजय उत्सव मनाइँदै आएको छ ।

उक्त लडाइँ पर्सागढीकै स्थानीय रञ्जित चौधरीको नेतृत्वमा लडिएको थियो । विजय उत्सवका दिन पर्सागढी नगरपालिकाभित्रका एक दर्जन बढी सामुदायिक विद्यालयबाट विद्यार्थीहरू झाँकीसहित कार्यक्रममा सहभागी हुनेछन् । मधेश प्रदेशका पर्यटन मन्त्री, जिल्लाका १४ वटै पालिकाका प्रमुखहरूलाई पनि कार्यक्रममा आमन्त्रण दिइएको छ ।

कार्यक्रममा खुकुरी नाच, नेपाली सेनाको ब्याण्ड बाजा, स्थानीय थारू संस्कृतिको नाच प्रस्तुत गरिने छ । उक्त अवसरमा ऐतिहासिक र्‍याली पनि निकालिने छ । वीर पुर्खाहरूलाई सम्मान गरिनुका साथै स्थानीय उत्पादनको प्रवर्द्धनका लागि विभिन्न स्टलहरू समेत राखिनेछ ।

पत्रकार सम्मेलनमा पर्सागढी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामजनम चौधरी, नगर प्रमुख गोकर्ण पाठक र समाजसेवी बृजमोहन चौधरीले पर्सागढीको लडाइँले देश जोगाउन महत्वपूर्ण भूमिका खेलेको बताए ।

उनीहरूले यो लडाइँ केवल स्थानीय नभएर राष्ट्रियताका लागि लडिएको ऐतिहासिक संघर्ष भएको उल्लेख गरे । उनीहरुले पर्सागढी विजय उत्सवले इतिहास, पहिचान र राष्ट्रिय चेतनालाई जोड्ने काम गर्ने विश्वास समेत व्यक्त गरे ।

वक्ताहरुले पर्सा जिल्लाको नामाकरणनै पर्सागढीको नामबाटै भए पनि पर्सागढीको संरक्षण, प्रचार प्रसार र प्रवर्द्धनमा अन्य सरोकारवालाहरुको ध्यान जान नसकेको गुनासो गरे । नगर प्रमुख पाठकले पर्सागढीको जग्गा अतिक्रमणको चपेटामा परेकाले पालिकाले यहाँ विकास निर्माणका कार्यक्रम सञ्चालन गर्न कठिनाई भइरहेको बताए ।

उनले चालु आवमा पनि पर्सागढीको विस्तृत डीपीआर तयार गर्न मात्र पालिकाले १० लाख रुपैयाँ विनियोजन गरेको तर जग्गा अभावमा डीपीआर तयार गर्न पनि नसकिएको उनले बताए । बर्षेनि पालिकाले पर्सागढीको लागि छुट्याउने बजेट उपयोग नभई खेर जाने गरेको उनले बताए ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully