सडक दुर्घटनाविरुद्ध ट्राफिक प्रहरीको युवा अभियान

बुधबार बर्दिवासमा भएको अन्तरक्रियामा सडक दुर्घटना खराब सडक र प्रयोगकर्ताले गरिरहेको लापरबाहीबारे सहभागीले ट्राफिक प्रहरीलाई जानकरी दिँदै सडक सुरक्षा चुस्त बनाउन अनुरोध गरेका थिए।

पुस १६, २०८२

सुनिता बराल

Traffic police youth campaign against road accidents

महोत्तरी — ट्राफिक प्रहरीले मधेसमा सडक दुर्घटनाविरुद्ध युवा अभियान थालेको छ ।  र्‍याली र अन्तरक्रिया गरेर कार्यक्रम सुरु गरिएको महोत्तरीको बर्दिवासबाट प्रदेश स्तरीय अभियान सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीका प्रमुख बाबुराम कार्कीले जानकारी दिए ।

मधेशका ८ जिल्लामा सडक दुर्घटनामा घाइते र मृत्यु हुनेको संख्यामा १७ देखि ३० वर्षका युवा बढी देखिएकाले यो कार्यक्रम युवा लक्षित रहेको ट्राफिक प्रहरीले जनाएको छ ।

यो अभियानअन्तर्गत तीव्र गति कम गराउन नियमित चेकजाँच,लागूपदार्थ तथा मादक पदार्थ सेवन जाँच, दुई पाङ्ग्रे सवारीसँग २ मिनेट सचेतना दिने अभियान, स्कुल र क्याम्पसका विद्यार्थीलाई सचेतना कक्षा, बोर्ड, स्टिकर टाँस गर्ने र सचेतनामूलक जिङ्गल बजाउने, सडकको अवस्था ठिकठाक राख्न पहल गर्ने गराउने लगायतका विविध कार्यक्रम यो अभियानमा पर्ने नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका कार्यालय प्रमुख प्रहरी उपरीक्षक राजकुमार सिलवालले बताए ।

बुधबार बर्दिवासमा भएको अन्तरक्रियामा सडक दुर्घटना खराब सडक र प्रयोगकर्ताले गरिरहेको लापरबाहीबारे सहभागीले ट्राफिक प्रहरीलाई जानकरी दिँदै सडक सुरक्षा चुस्त बनाउन अनुरोध गरेका थिए।

सुनिता बराल कान्तिपुरकी महोत्तरी संवाददाता हुन् ।

Link copied successfully