हुण्डी कारोबारको रकम सहित तीन भारतीय पक्राउ

पक्राउ परेका तीनै जनालाई स्रोत नखुलेको हुण्डी रकमसहित अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य भइरहेको पर्सा प्रहरी प्रवक्ता डीएसपी राजु कार्कीले जानकारी दिए ।

पुस १६, २०८२

शंकर आचार्य

Three Indians arrested with money from hundi transaction

What you should know

पर्सा — प्रहरीले स्रोत नखुलेको हुण्डी कारोबारको रकमसहित तीन भारतीयलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार बेतिया, मथौली घर भई हाल वीरगन्ज महानगरपालिका-२ छप्कैयामा बस्ने ५० वर्षीय अनवर मिया, उनका छोरा २२ वर्षीय कैफ र भारत बिहार मोतिहारीकाे गम्हरियाकला-३ का ४८ वर्षीय फूल महम्मद रहेका छन् ।

प्रहरीले विशेष सूचनाका आधारमा वीरगञ्ज महानगरपालिका–१० मकालु चोकबाट  सोमबार अनवर मिया र उनका छोरा कैफलाई पक्राउ गरेको हो । बीआर २२ एच ६३३८ भारतीय नम्बरको मोटरसाइकल चढेर आइरहेको अवस्थामा उनीहरूलाई रोकी खानतलासी गर्दा  अनवर मियाले लगाएको पाइन्टको खल्तीबाट १ हजार दरका ५२, पाँच सय दरका १ सय ५७ र ५० दरका ९ गरी १ लाख ३० हजार ९ सय ५० रुपैयाँ र मोटरसाइकलको पछाडि सवार कैफले लगाएको पाइन्टको खल्तीबाट १ हजार दरका २ सय र ५ सय दरका दुई सय गरी तीन लाख रुपैयाँ बरामद भएको थियो ।  

सोमबार नै मकालु चोकबाटै अर्का भारतीय नागरिक फुल महम्मदलाई पनि प्रहरीले हुण्डी कारोबारको रकमसहित पक्राउ गरेको हो । लु ४१ प ६८९७ नम्बरको मोटरसाइकलमा सवार फुल महम्मदले लगाएको ज्याकेटको खल्तीबाट १ हजार दरका २ सय ४१ नोट फेला परेका थिए ।

पक्राउ परेका तीनै जनालाई स्रोत नखुलेको हुण्डी रकमसहित मुलुकी अपराध संहिता २०७४ को दफा १ सय २५ को (क) बमोजिम  हुण्डीसम्बन्धी कारोबार गर्न नहुने  कसूरमा पर्सा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको पर्सा प्रहरी प्रवक्ता डीएसपी राजु कार्कीले जानकारी दिए । 

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully