मजदुरी गर्दै पढेका सिरहाका सत्यनारायण साफीले एमबीबीएस प्रवेश परीक्षामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका थिए ।
सिरहा — सिरहा जिल्लाको बरियारपट्टी गाउँपालिका–२ श्रीपुर गाउँका सत्यनारायण साफीले कठिन संघर्षलाई सफलतामा रूपान्तरण गर्दै युवाका लागि प्रेरणादायी उदाहरण प्रस्तुत गरे । मजदुरी गर्दै पढेका साफीले एमबीबीएस प्रवेश परीक्षामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका थिए ।
आर्थिक अभाव, सीमित स्रोत र चुनौतीपूर्ण परिस्थितिका बाबजुद पनि अध्ययनप्रति देखाएको अठोट, निरन्तर मेहनत र अदम्य धैर्यले उनलाई चिकित्सक बन्ने मार्गमा डोर्याएको छ । संघर्षपूर्ण जीवनयात्राबाट प्राप्त यस उपलब्धिले समाजमा आशा, सम्भावना र सकारात्मक सन्देश प्रवाह गरेको छ ।
उनको असाधारण सफलतालाई कदर गर्दै नेपाली कांग्रेस मधेशकी युवा नेता शर्मिला थापाले सत्यनारायण साफीलाई १ लाख ५ हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेकी हुन् ।
सहयोग प्रदान गर्दै थापाले साफीको साहस, समर्पण र निरन्तर संघर्षलाई सम्मान गर्दै भविष्यमा अझ सशक्त रूपमा अघि बढ्न हौसला प्रदान गर्ने उद्देश्यले सहयोग गरिएको बताइन् ।
सहयोग वितरण कार्यक्रममा कांग्रेस मधेश प्रदेश प्रचार–प्रसार विभाग प्रमुख नितेश कुमार गुप्ता, बरियारपट्टी गाउँपालिकाकी उपाध्यक्ष ममताकुमारी यादव, वडा नं. ३ का अध्यक्ष विनोद कुमार यादव, वडा अध्यक्ष राम खेलावन दास, देवप्रसाद यादव (प्राथमिक विद्यालय शिक्षक), स्थानीय युवा नेता सुमन कुमार यादव, जिल्ला खेलकुद विकास समिति सर्लाहीको अध्यक्ष रोजित केसी , समाजसेवी युवा नेता नारायण गुरुमाछन साथै स्थानीय बुद्धिजीवी, शिक्षक र समाजसेवीहरूको उपस्थिति रहेको थियो।
