टहरामा चिसो छल्न सकस, किरियाका लागि ऋण खोज्दै विपन्न परिवार

शीतलहरले टिनको टहरमा चिसो छल्नै सकस परिररहेको मगर परिवार किरिया खर्च नजुट्दा झनै पिरोलिरहेको छ ।

पुस १४, २०८२

विद्यानन्द राम

Poor family struggling to survive the cold in a tent, seeks loan for rent

What you should know

राजविराज — ज्याला मजदुरी गरेर गुजारा चलाउँदै आएका सप्तरीको राजविराज नगरपालिका–५ स्वर्ण टोलका अनबहादुर आले मगरको मृत्यु भएपछि परिवारलाई किरिया खर्च जुटाउनै कठिन भइरहेको छ ।

मगरको गत शुक्रबार बेलुका ७२ वर्षको उमेरमा मृत्यु भएको हो ।

छिमेकी र आफन्तसँग सरसापटी गरेर चार दिनसम्म किरिया बसे पनि अबको खर्चका लागि कर्जा खोज्नुबाहेकको विकल्प नरहेको ६२ वर्षीया उनकी श्रीमती दीपाले बताइन् । ‘अहिलेसम्म सरसापट गरेको १४ हजार रुपैयाँ सकिसक्यो,’ उनले भनिन्, ‘१३ दिनसम्म हुने किरिया खर्चको जोहोमा लागेकी छु । ३/४ ठाउँमा कर्जाका लागि कुरा गर्दा पनि अहिलेसम्म जुटेको छैन् ।’

उनको परिवार तीन पुस्तादेखि त्यहाँ ऐलानी जग्गामा बनाएको टिनको टहरामा बसोबास गरिरहेको छ । श्रीमान्–श्रीमती मिलेर ज्याला मजदुरी गरेर तीन जना छोरीलाई हुर्काउँदा एक रुपैयाँ पनि जोगाउन नसकेको दीपाले सुनाइन् । ‘श्रीमानकाे मृत्युपछि अहिले छाक टार्न मुस्किल भइरहेको छ नै, अझ मृत्यु भइसकेका श्रीमान्को किरिया खर्च नजुट्दाको पीर थपिएको छ,’ उनले भनिन्, ‘गरिबीले बडो कष्ट दिइरहेको छ ।’

शीतलहरले टिनको टहरमा चिसो छल्नै सकस परिररहेको मगर परिवार किरिया खर्च नजुट्दा झनै पिरोलिरहेको छ । उनीहरुकी जेठी छोरी निशाको विवाह भइसकेको छ । मगरको मृत्युपछि माइली छोरी १८ वर्षकी इनिशा र कान्छी १६ वर्षकी एरिका करियापुत्री बसेकी छन् ।

किरियापुत्रीलाई छुट्टै बस्न दिनुपर्ने परम्पराका कारण शीतलहरको बेला दीपालाई बाहिरै त्रिपालमुनि बस्नुपर्ने बाध्यता छ । ‘परम्परा त निभाउनै पर्‍यो । एउटै टहरो छ, बाहिरै आगो तापेर जसोतसो जाडो काट्दै छु,’ दीपाले भनिन् ।   

विद्यानन्द विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully