प्रतिनिधिसभा निर्वाचन : रौतहटमा एक मतदानस्थल सहित १८ केन्द्र थप

जिल्ला निर्वाचन कार्यालयका अनुसार रौतहटमा ४ लाख ३६ हजार ६ सय ११ मतदाता छन् ।

पुस १४, २०८२

रासस

House of Representatives election: 18 more polling stations, including one in Rautahat

What you should know

चन्द्रपुर(रौतहट) — आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि रौतहटमा एक मतदानस्थल सहित १८ केन्द्र थप गरिएका छन्  ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार २०७९ को प्रतिनिधिसभा निर्वाचनको तुलनामा आगामी फागुन २१ मा हुने निर्वाचनका लागि मतदातालाई थप सहज बनाउन केन्द्र र स्थल थप गरिएका हुन् । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा जिल्लामा पाँच सय २३ मतदान केन्द्र रहेकामा यसवर्ष १८ वटा थपिएर पाँच सय ४१ वटा केन्द्र कायम भएको जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासले जानकारी दिए ।

२०७९ को प्रतिनिधिसभाको निर्वाचनमा दुई सय ७६ मतदानस्थल कायम रहेकामा यसवर्ष एउटा स्थल थपेर दुई सय ७७ कायम गरिएको छ । गरुडा नगरपालिका–६ मा नयाँ मतदानस्थल थपिएको हो ।

जिल्लामा २१ हजार एक सय ५६ जना मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय प्रमुख दासका अनुसार रौतहटमा अहिले चार लाख ३६ हजार ६ सय ११ जना मतदाता रहेका छन् । मतदाता थपिएसँगै मतदानस्थल र मतदान केन्द्र पनि थपिएको कार्यालय प्रमुख दासले जानकारी दिए ।

२०७९ को प्रतिनिधिसभा निर्वाचनमा चार लाख १५ हजार चार सय ५५ जना मतदाता थिए । दुई गाउँपालिका र १६ नगरपालिका रहेको जिल्लामा चार वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेका छन् यसमा एक सय ५७ वटा वडा रहेका छन् । 

२०७९ को निर्वाचनमा क्षेत्र नंं १ बाट तत्कालीन नेकपा एसका तर्फबाट माधवकुमार नेपाल, क्षेत्र नं २ बाट स्वतन्त्र किरण साह, क्षेत्र नं ३ बाट आजपा अध्यक्ष प्रभु साह र क्षेत्र नं ४ बाट नेपाली कांग्रेसको तर्फबाट देवप्रसाद तिमल्सिना निर्वाचित भएका थिए । उक्त निर्वाचनमा चार लाख १५ हजार चार सय ५५  मतदातामध्ये दुई लाख ८२ हजार चार सय ३०  मतदाताले मतदान गरेका थिए ।

रासस

Link copied successfully