चिसो अझै केही दिन रहने सम्भावना भएकाले विद्यार्थीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै बिदा दिने निर्णय गरिएको हो ।
What you should know
सर्लाही — केहीदिनयता बढ्दै गएको शीतलहरसँगै कठ्यांग्रिदो चिसोका कारण स्थानीय तहहरुले विद्यालयमा धमाधम बिदा दिन थालेका छन् ।
चिसोले पठनपाठन सञ्चालन गर्न मुस्किल परेपछि चन्द्रनगर गाउँपालिकाले आइतबारदेखि पुस २५ गतेसम्मका लागि गाउँपालिकाभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिएको हो ।
पुस २६ र २७ गते सार्वजनिक बिदा रहेकाले पुस २८ गतेदेखि विद्यालय नियमित सञ्चालनमा आउने गाउँपालिकाले छ ।
यस्तै हरिवन नगरपालिकाले पनि अत्याधिक चिसो र शीतलहरले बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भन्दै पुस १६ गतेदेखि जाडो बिदा दिएको छ । नगरपालिकाले सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई बिदा कार्यान्वयन गरी आवश्यक विवरण शिक्षा शाखामा जानकारी गराउन अनुरोध गरेको छ ।
यी दुवै स्थानीय तहका अनुसार चिसो अझै केही दिन रहने सम्भावना भएकाले विद्यार्थीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै बिदा दिने निर्णय गरिएको हो । अत्याधिक चिसोले विद्यार्थी कम हुनथालेपछि स्थानीय तहहरुले पनि बिदाका लागि पहल थालेका थिए । अभिभावकहरुलाई समेत बालबालिकालाई न्यानो कपडा लगाउने र स्वस्थ्यप्रति सतर्क रहन आग्रह गरिएको छ ।
पुस लागेसँगै बढेको चिसोले अन्य स्थानीय तहका विद्यालयमा पनि विद्यार्थीको चाप घट्दै गएको छ । ढोका नभएका कोठामा जस्ताको छानाले चिसो सहन मुस्किल हुने गरेको विद्यार्थीहरु बताउँछन् । उनीहरुले कक्षामा पढ्दापढ्दै जस्ताबाट पानी चुहिने गरेको गुनासो गरे ।
पुस लागेदेखि सुरु भएको कठ्याङ्ग्रिदो चिसोले तराई क्षेक्रको जनजीवन अत्यन्त कष्टकर बनिरहेको छ । चिसो बढ्दा बालबालिका, बृद्धबृद्धा, अशत्त र विपन्न वर्गका मानिस बढी प्रभावित भइरहेका छन् ।
