वीरगन्ज महानगरको १९ औं नगर अधिवेशन सम्पन्न

पुन:निर्माणका लागि आवश्यक स्रोत जुटाउँदै चालु आर्थिक वर्षमा १७ औं अधिवेशनले छुट्याएको वडातर्फको बजेटलाई यथावत् रहने गरी अहिलेको अधिवेशनबाट पारित गरिएको महानगर प्रमुख राजेशमान सिंहले जानकारी दिए ।

पुस १४, २०८२

शंकर आचार्य

19th municipal convention of Birgunj Metropolitan City concluded

पर्सा — वीरगन्ज महानगरपालिकाको १९ औं नगर अधिवेशन सोमबार सम्पन्न भएको छ । अधिवेशनले यसअघि असोजमा भएको विशेष अधिवेशनले कटौती गरेको वडाको २५ प्रतिशत बजेटलाई पुन: थप गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

भदौ २३ र २४ को जेन-जी आन्दोलन र प्रदर्शनका क्रममा महानगरमा भएको क्षतिपछि असोजमा विशेष अधिवेशन भएको थियो । विशेष अधिवेशनले महानगरको सबै संरचनामा क्षति पुगेकाले पुन:निर्माणलाई प्राथमिकतामा राख्दै वडाको समेत बजेट कटौती गरेको थियो ।

पुन:निर्माणका लागि आवश्यक स्रोत जुटाउँदै चालु आर्थिक वर्षमा १७ औं अधिवेशनले छुट्याएको वडातर्फको बजेटलाई यथावत् रहने गरी अहिलेको अधिवेशनबाट पारित गरिएको महानगर प्रमुख राजेशमान सिंहले जानकारी दिएका छन् । उनले चालु आर्थिक वर्षको आजसम्म समग्र आय–व्ययको अवस्थासमेत जानकारी गराएका थिए । हालसम्म विनियोजित ३ अर्ब २२ करोड रुपैयाँमध्ये १ अर्ब १३ करोड रुपैयाँ खर्च भएको पनि उनले बताए । हालसम्म विनियोजित बजेटको ३३ प्रतिशत खर्च भएको छ । चालु खर्चतर्फ ३४ दशमलव ७८ प्रतिशत र पुँजीगत खर्चतर्फ ३२ दशमलव ६४ प्रतिशत रहेको छ ।

महानगरपालिकाले चालु आवमै शुलभ औषधि पसल र प्रयोगशाला विस्तार, नगर अस्पताल सञ्चालनमा ल्याउने लक्ष्यसमेत राखेको छ । अधिवेशनमा उपप्रमुख इम्तियाज आलम तथा महानगरका वडाका वडाध्यक्ष, वडा सदस्य लगायतका सहभागी थिए । 

शंकर आचार्य आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully