त्रिपालमा बस्न बाध्य मुसहरलाई नगरले एकैदिनमा बनाइदियो घर

लहान नगरपालिकाले शनिबार नगर प्रहरी परिचालन गरेर एक मुसहर परिवारलाई काठ, बाँस, जस्तालगायतका सामग्री प्रयोग गरी एकैदिनमा घर बनाइदिएको हो ।

पुस १३, २०८२

विनय आजाद

The city built a house in one day for Musahar, who was forced to live in a tent.

What you should know

सिरहा — कठ्यांग्रिदो जाडोले मधेशकाे जनजीवन निकै प्रभावित बनेको छ । घरमै बस्न असहज महसुस हुने यस्तो बेलामा घर नहुनेहरू भने त्रिपालमूनि बस्न बाध्य छन् ।

लहान नगरपालिका-१५ बानोको एक मुसहर परिवारले घर नभएर त्रिपालमूनि बस्न बाध्य हुनुपरेको थियाे ।

दलित समुदायमा आर्थिक हिसाबले अति विपन्न मानिने मुसहर समुदायका श्याम सदायको परिवारमा श्रीमती बिमला र तीन कलिला छोरी गरी पाँच जना छन् । उनीहरूको यसअघि फुसको झुप्रो थियो । तर, गत बैशाखमा आएको हावाहुरीले उनको ओत लाग्ने घरनै भत्काइदियो ।

श्याम र बिमला नजिकैको खुट्टी खोलामा गिट्टी चालेर जीविका चलाउँछन् । गिट्टी बेचेर हुने आम्दानीबाट खानलाउनै समस्या भोग्ने यो परिवारका लागि त्यसबाट घर पनि बनाउने कुरा टाढाको भइगयो ।

जसकारण यसअघि घर भएकै ठाउँमा उनीहरू त्रिपाल टाँगेर चारैतिर पराल र कपडाले छेकेर ओत लिनुपर्ने अवस्था भयो । तर, अबदेखि यो परिवार यसरी कष्टकर रात काट्नुपर्ने छैन । किनकि, यो परिवारलाई नगरपालिकाले घर बनाइदिएको छ ।

लहान नगरपालिकाले शनिबार नगर प्रहरी परिचालन गरेर यो मुसहर परिवारलाई काठ, बाँस, जस्तालगायतका सामग्री प्रयोग गरी एकैदिनमा घर बनाइदिएको हो । 'शनिबार बिदाको दिन पनि हो,' लहानका मेयर प्रसाद चौधरीले भने, 'यो दिनलाई हामीले उहाँको घर बनाइदिएर सदुपयोग गर्‍यौं ।'

मेयर चौधरीका अनुसार यो परिवारले घर अभावमा जाडोमा पनि त्रिपालमूनि रात बिताउन बाध्य रहेको कुरा ३ दिनअघि थाहा पाएका थिए । 'मलाई सुन्दै नमिठो लाग्यो, त्यसलगत्तै हामी उहाँको घर बनाउने योजनामा लाग्यौं,' उनले भने, 'राज्यले सहयाेग गर्ने यस्तै कमजोर नागरिकका लागि हो, हामीले त्यही गरेका हौं ।'

तर, यो घर आपतकालीन रूपमा बनाइएको अस्थायी भएको र छिट्टै पक्की घरका लागि पनि पहल गरिने मेयर चौधरीले बताए । त्रिपालमुनि बस्दै आएको यो परिवार घरमा बस्न पाएपछि खुशी भएका छन् ।

'हामीलाई त्यसरी रात काट्न एक दिनको त के कुरा, हरेक मिनेट गाह्रो हुन्थ्यो, तर अब त्यति दु:ख हुँदैन,' श्यामले भने, 'नगरपालिकाप्रति आभारी छु, पक्की घर पनि चाँडै बन्छ भन्ने आशा छ ।'

विनय आजाद आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully