वीरगन्जमा सुरु भयो सामुदायिक कुकुरको बन्ध्याकरण अभियान

सप्ताहव्यापी रूपमा चल्ने यस अभियानमा शनिबार मात्रै १४ सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको छ ।

पुस १३, २०८२

शंकर आचार्य

Community dog ​​sterilization campaign begins in Birgunj

What you should know

पर्सा — वीरगन्जमा सामुदायिक कुकुरहरूको बन्ध्याकरण अभियान सुरु भएको छ । शनिबार १४ सामुदायिक कुकुरको बन्ध्याकरण गरिएको हो ।

वीरगन्जमा सक्रिय पशुपन्छी अधिकार जागरण समूह सुमार्ग बिन्दुआमा फाउन्डेसन तथा नेपाल भेटरीनरी एसोसिएसन मधेश प्रदेशको संयुक्त आयोजनामा अभियान सुरु गरिएको हो । फाउन्डेसनकी अध्यक्ष प्रतिभा कोइरालाले सामुदायिक कुकुरको संख्या महानगरमा बर्सेनि बढ्दै गएको सन्दर्भमा कुकुरको बन्ध्याकरण अपरिहार्य भएकाले यो अभियान चलाउनु परेको बताइन् ।

महानगरका ३२ वटै वडामा गरी १० हजार बढी सामुदायिक कुकुर रहेको तर तिनको मानवसँगको द्वन्द्व बढ्दै गएर कुकुर र मानव दुवैलाई जोखिम बढ्दै गएको उनले बताइन् । ‘स्थानीयले कुकुरलाई कुट्ने, तातोपानी फाल्ने, कुकुरहरू विभिन्न रोगको सिकार हुने र सवारी दुर्घटनामा घाइते हुने तथा मर्ने जस्ता घटना निरन्तर भइरहेका छन्,’ उनले भनिन्, ‘सामुदायिक कुकुरको संख्या नियन्त्रण भए यस्तो द्वन्द्व घट्ने र कुकुरमाथिको ज्यादतिका घटनामा पनि कमी आउँदै जानेछ ।’

नेपाल भेटरीनरी एसोसिएसन मधेश प्रदेशका अध्यक्ष डा. दिनेश तिवारीले लामो समयदेखि यो अभियानको सुरुवात गर्ने गृहकार्य भइरहेकामा हाल सम्भव भएको बताए । उनले पहिलो दिन कम्तीमा २० सामुदायिक कुकुरको बन्ध्याकरण गर्ने लक्ष्य रहेकामा प्राविधिक कारणले १४ वटाको मात्र बन्ध्याकरण गर्न सम्भव भएको बताए । उनले कुकुर मानवको सबै भन्दा पुरानो साथी रहेकाले यसलाई पाशविक तवरले नभई मायाले मानव हितमा प्रयोग गर्न सकिने बताए ।

बन्ध्याकरण कार्यमा सहभागी एसोसिएनका सचिव तथा वीरगन्ज महानगरपालिकाको कार्यालय पशु सेवा शाखाका चिकित्सक डा सुदीप शर्माले यो अभियानले महानगरमा सामुदायिक कुकुरको संख्या बिस्तारै नियन्त्रित हुँदै जाने दाबी गरे । उनले साताव्यापी रूपमा यो अभियान चलाइने पनि बताए ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully