‘सडक दुर्घटनाविरुद्ध युवा–२०८२’ कार्ययोजना अनुसार उक्त अभियान सञ्चालन गरिएको हो।
रौतहट — तराई–मधेश क्षेत्रमा लाग्ने हुस्सु र कुहिरोका कारण हुने सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले रौतहटका विभिन्न सडक खण्डमा रिफ्लेक्ट स्टिकर टाँस्न थालिएको छ।
यसले सवारी चालकलाई सहज हुने जिल्ला ट्राफिक प्रहरीले जनाएको छ। ‘सडक दुर्घटनाविरुद्ध युवा–२०८२’ कार्ययोजना अनुसार उक्त अभियान सञ्चालन गरिएको हो।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत धन्सारदेखि बागमती पुलसम्म र चन्द्रनिगाहपुर–गौर सडक खण्डको बाल्चनपुर क्षेत्रसम्म सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरबाट प्राप्त विभिन्न रङका करिब ३५० फिट बराबरका रिफ्लेक्ट स्टिकर पुल, कल्भर्ट तथा साइनबोर्डमा टाँसिएको रौतहट जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक राजेन्द्र थापा मगरले बताए।
‘मधेशमा अहिले हुस्सु र कुहिरोको समस्या छ, जसले सवारी चालकलाई निकै अप्ठेरो बनाएको छ,’ उनले भने, ‘रिफ्लेक्ट स्टिकरले राति तथा कुहिरोमा सडक संरचना देख्न सहज हुन्छ र दुर्घटना हुनबाट जोगाउन मद्दत पुग्छ।’
ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालयको सहकार्यमा उक्त अभियान सञ्चालन गरिएको थापा मगरले जानकारी दिए। केही दिनयता रौतहटका विभिन्न स्थानमा सवारी दुर्घटना बढेको देखिएको ट्राफिक प्रहरीको भनाइ छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार साउनयता पाँच महिनाको अवधिमा जिल्लाभर ४७५ वटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा २५ जनाको मृत्यु भएको छ भने १ हजार ३९ जना घाइते भएका छन्।
यसै अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने ४ हजार ५४ सवारीसाधन कारबाहीमा परेका छन्। ती सवारीसाधनबाट ३८ लाख रुपैयाँ जरिवाना असुल गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
